१४ कार्तिक २०८१, बुधबार

तीन वटा पेट्रोल पम्प सिल गरियो



धनगढी । कैलालीको धनगढीमा सञ्चालनमा रहेका तीन वटा पेट्रोल पम्पमा सिल गरिएको छ । सवारी साधनमा पेट्रोल तथा डिजेल भर्ने मेसिनबाट कम परिमाणमा इन्धन भरिरहेको फेला परेपछि सिल गरिएको जनाइएको छ ।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, धनगढीका प्रमुख रोशन गौतमको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनका क्रममा ती पेट्रोल पम्पमा इन्धन बिक्रीमा घोटाला भएको पाएका थिए । अनुगमन टोलीले धनगढीका छ वटा पेट्रोल पम्पको स्थलगत निरक्षण गरेको थियो ।
अनुगमनका क्रममा तीन वटा पेट्रोल पम्पका इन्धन भर्ने पाँच वटा मेसिनबाट कम परिमाणमा पेट्रोल तथा डिजेल विक्री वितरण गरिरहेको अवस्थामा फेला परेको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।
उनका अनुसार शिवशंकर आयल स्टोरले प्रति १० लिटरमा ५० मिलिलिटर डिजेल, मल्ल आयल स्टोरले पेट्रोलमा प्रति १० लिटरमा ३० मिलिलिटर र हरि आयल स्टोरले पेट्रोलमा प्रति १० लिटरमा ३० मिलिलिटर, डिजल हाल्ने मेसिनमा प्रति १० लिटरमा एक मेसिनमा ३० र अर्कोमा ६० मिलिलिटर कम तौल भएको फेला परेको थियो ।
उनले सिल गरिएका पेट्रोल पम्पमा अर्को आदेश नभएसम्म विक्री वितरण गर्न नपाउने बताए ।
अनुगमन टोलीमा कैलाली जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढी, पेट्रोलियम व्यवसायी एसोसियनका प्रतिनिधीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार