६ कार्तिक २०८१, मंगलवार

बलात्कार विरुद्ध चार महिने अभियान



धनगढी । प्रदेश ७ मा बलात्कार र हत्याका घटना बढ्दै गएपछि बलात्कार विरुद्ध चार महिने अभियान सुरु गरिएको छ ।
महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले शुक्रबारदेखि बलात्कार विरुद्ध चार महिने अभियान सुरु भएको घोषणा गर्‍यो ।
चार महिने अभियानबारे जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सञ्जालका अध्यक्ष डाक्टर रेणु अधिकारी राजभण्डारीले बलात्कारका घटना न्यूनीकरण र घटनामा संलग्न दोषिहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
अभियानका क्रममा चार महिनासम्म प्रत्येक शुक्रबार दिउसो ११ देखि १२ बजेसम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिइने छ भने हरेक महिनाको अन्तिम दिन दवावमूलक र्‍याली निकालिने छ ।
राष्ट्रिय सञ्जालका अध्यक्ष राजभण्डारीले एक हप्ताभित्र सरोकारवालाहरूसँग छलफल गरी समुदाय तहदेखि अभियान सञ्चालनका लागि कार्ययोजना तयार गर्ने, हरेक जिल्लामा र्‍याली एवं जिल्ला समन्वय समितिको कार्यालय अगाडि धर्ना दिने तथा पत्रकार, प्रहरी, अधिकारकर्मी लगायत सरोकारवालासँग लैंगिक संवेदनशीलताबारे अन्तरक्रिया गरिने कार्यक्रम रहेको बताइन् ।
बलात्कार विरुद्धको चार महिने अभियानको संयोजक महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष निर्मला बागचन्द संयोजक रहेकी छन् । अभियानको सहसंयोजकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) का अधिकृत कृष्ण विक रहेका छन् भने सिविन नेपालका हिरालाल चौधरी सदस्य रहेका छन् ।
यसैबीच, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालका अध्यक्ष डाक्टर राजभण्डारीसहितको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामका बालिका निर्मला पन्तको केही दिनअघि भएको बलात्कार तथा हत्याबारे स्थलगत जानकारी लिएको छ । टोलीले बिहीबार घटनास्थलको अनुगमन तथा मृतक बालिका पन्तका परिवारजन र प्रहरीसँग भेटघाट तथा छलफल गरेको थियो ।
शुक्रबारको पत्रकार सम्मेलनमा अध्यक्ष डाक्टर राजभण्डारीले बालिका निर्मलाको बलात्कारपछि हत्या घटनालाई बंग्याउने चलखेल भइरहेको आरोप लगाइन् ।
उनले बिहीबार घटनास्थलको अनुगमन, प्रहरी र बालिकाका आफन्तसँगको भेटघाट र छलफलपछि राजनीतिक दबावका कारण मुद्दालाई बंग्याउने प्रयास भइरहेको पाइएको दावी गरिन् ।
उनले घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो परिचालन हुनु सकारात्मक भए पनि १५ वितिसक्दा पनि दोषिहरू पत्ता नलाग्नु आफैमा शंकास्पद रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार