२ माघ २०८१, बुधबार

जनवकालत अभियान



धनगढी । राष्ट्रिय अपाङ महासंघ नेपाल, ७ नम्बर प्रदेश कार्यालयले प्रदेशमा जनवकालत अभियान शुरु गरेको छ ।
अपांगता भएका व्यक्तिहरुको सवालको समावेशीकरण, नीति कार्यक्रमको निर्माण र कार्यान्वयन, अनुगमन र मूल्यांकनमा अपांगता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता सुनिश्चितताको लागि प्रदेश सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको मंगलबार धनगढीमा आयोजित पत्रकारमा जानकारी दिइयो ।
सो अवसरमा महासंघका प्रदेश अध्यक्ष भीमबहादुर शाहले अभियान अन्तर्गत आज (बुधबार) मुख्यमन्त्री कार्यालयदेखि पार्कमोडसम्म जनचेतनामुलक र्‍याली तथा कोण सभा आयोजना हुने बताए ।
त्यस्तै, भोलि (बिहीबार) विभिन्न मागसहित प्रदेशको सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
त्यस्तै, पर्सी (शुक्रबार) मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा ज्ञापनपत्र सहित प्रतिवद्धता जाहेर गराइने कार्यक्रम रहेको अध्यक्ष शाहले बताए ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका केन्द्रीय सदस्य मानबहादुर साउँदले अपाङ्गता भएका व्यक्तिहरूका सवालमा विभिन्न ऐन/कानुन, निर्देशिका जारी भए पनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरे ।
उनले नेपालको संविधान २०७२, अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी (सन २००६), अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, समावेशी शिक्षा नीति २०७३, अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९, सर्वोच्च अदालतका फैसला, ऐन, नीति नियम र निर्देशिका कडाईका साथ कार्यान्वयन गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले निर्माण गर्ने ऐन, नीति, नियम र निर्देशिकामा अपांगता सवाल समावेश गराउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार