२ माघ २०८१, बुधबार

शान्ति सुरक्षाको अवस्था कमजोर भएकोमा चिन्ता



धनगढी । कैलालीमा केही समयदेखि शान्ति सुरक्षाको अवस्था कमजोर भइरहेकोमा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । नागरिक अगुवाहरूले पछिल्लो समयमा कैलालीका विभिन्न क्षेत्रमा बलात्कार, हत्या, बोक्सीको आरोपमा यातना लगायतका अपराधिक घटना बृद्धि भइरहेकोमा सरकारको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार धनगढीमा भएको एक कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा सदस्य रत्ना बिष्टले समाजमा पीडितले लुकेर बस्नुपर्ने र पीडक सम्मानजनक अवस्थामा बसिरहेको अवस्था रहेको चर्चा गरिन् । उनले पीडित महिलाले घर तथा समाजबाट अपहेलित हुनुपरेको बताइन् ।
वडा सदस्य विष्टले राज्यले पीडित महिलाका लागि आवास गृहको व्यवस्था गर्नुपर्ने बताइन् । केही दिनअघि धनगढी उपमहानगरपालिकाभित्रै एक युवतीमाथि यौन शोषण भएपछि उनका बुबाले धम्की दिएको बताइन् । “पीडित युवतीका बुवा भारत छन्, उनले श्रीमतीलाई फोन गरेर ‘छोरीलाई घरबाट बाहिर निकाल, म आउँदासम्म घरमै बसेको पाए भने तिमीहरू दुबैलाई मार्छु’ भनेर धम्की दिएका रहेछन्” उनले भनिन् ।
“एक महिनाको अवधिमा बलात्कारपछि निर्मम हत्याका दुई वटा घटना भएका छन्” नागरिक अगुवा धनपति ढुंगेलेले भने– “यी घटनाले महिलाहरूमा त्रास बृद्धि भएको छ ।”
केही दिनअघि गौरीगंगा नगरपालिकामा माया विकको सामुहिक बलात्कारपछि हत्या भएको घटनाको स्मरण गर्दै दलित महिला अधिकारी मञ्चकी कार्यकारी निर्देशक सावित्रा घिमिरेले भनिन्– “त्यो घटनाले स्थानीय महिलालाई त्रसित बनाएको छ ।” उनले प्रहरीले सो घटनामा संलग्न अपराधीलाई पक्राउ गरे पनि प्रदेश सरकारले त्यो घटनाका कारण समाजमा परेको प्रभावबारे ध्यान दिन नसकेको बताइन् ।
प्रदेश ७ का नौ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा एक जबरजस्ती करणीका सय दुई वटा मुद्दा दर्ता भएका छन् । त्यतिकै हाराहारीमा जबर्जस्ती करणी उद्योगका मुद्दा दायर भएका छन् । तीमध्ये आधाभन्दा बढी पीडितको संख्या १६ वर्ष मुनिका बालिकाको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार झण्डै आधा संख्या अर्थात् जवरजस्ती करणीका ४४ वटा मुद्दा कैलालीमा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार