२ माघ २०८१, बुधबार

अनुपस्थित कर्मचारीको विवरण संकलन शुरु



धनगढी । स्वास्थ्य मन्त्रालयले जानकारी नदिएर कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको विवरण संकलन गर्न शुरु गरेको छ । मन्त्रालयले देशभरीका स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, पाँच वटै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, ७७ वटै जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयलाई पत्राचार गरी विवरण बुझाउन निर्देशन दिएको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयले अनलाइनमा राखेको विवरण अनुसार बिना जानकारी कार्यालयमा अनुपस्थित रहेका कर्मचारीको विवरण तीन दिनभित्र मन्त्रालयको प्रशासन शाखामा बुझाउन परिपत्र गरेको छ ।
मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ– “लामो समय कार्यालयमा अनुपस्थित रहेको कर्मचारीलाई गयलकट्टी गरी हाजिर गराएको पाइएमा प्रशासन प्रमुख र कार्यालय प्रमुखलाई प्रचलित ऐन नियम बमोजिम विभागिय कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने छ ।
मन्त्रालयले अख्तियार दुरपयोग अनुसन्धान आयोगले पत्रअनुसार देशभरीकै कर्मचारीको क्रियाकलापहरूको हाजिरी संकलन शुरु गरेको जनाइएको छ । सो परिपत्रमा बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफनो पदाधिकार रहेको कार्यालयमा अनुपस्थित कर्मचारीलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा (१) को देहाय (ज) को कसुरमा सोही ऐनको ७२ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेतर्फ विभागिय कारबाहीका प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।
कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख प्रशासकीय अधिकृत टंकप्रसाद चापागाईले जिल्लामा अहिलेसम्म कर्मचारीहरू बिना जानकारी अनुपस्थित भएको भने नपाइएको जानकारी दिए । पत्र शुक्रबार दिइएपनि आइतबारदेखि मात्र पत्रअनुसार काम अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार