२ माघ २०८१, बुधबार

प्रदेश नम्बर ७ का मुख्यमन्त्री भट्टको स्वास्थ्यमा समस्या, आफ्नै निवासमा उपचार



धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको स्वास्थ्यमा समस्या देखिएपछि आफ्नै निवासमा उपचार भइरहेको छ । मंगलबारदेखि ज्वरो आउने, पेट र जिउ दुख्ने समस्या देखिएपछि भट्टलाई बुधवार बिहानै उपचारका लागि धनगढीको सेती अञ्चल अस्पतालमा लगिएको थियो । अस्पतालमा विशिष्ट व्यक्तिका लागि राम्रो वेडको व्यवस्था नहुँदा अस्पतालमा उपचार नगरेर निवासमा ल्याएर उपचार गर्न सुरु गरिएको हो ।
सेती अञ्चल अस्पतालका आकस्मिक कक्षका ईञ्चार्ज कृष्णबहादुर बोहराले भने– “मुख्यमन्त्री बिहानै अस्पताल आउनुभएको थियो । अस्पतालमा राम्रो वेड नभएपछि उनकै निवासमा उपचार सुरु गरिएको छ ।”
ईञ्चार्ज बोहरानै मुख्यमन्त्रीको उपचारका लागि निवासमा गएका थिए । “जाँचको क्रममा ज्वरो आउने, पेट र जिउ दुख्ने समस्या देखिएको छ । रगत र पिसाव चेक गर्नुसँगै स्लाईन पानि चढाएका छौं” उनले भने– “समस्या के रहेछ रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ ।”
उनले अल्ट्रासाउण्ड गर्नुपर्ने भएपनि बिहानै मुख्यमन्त्री भट्टले नास्ता खाएका कारण भोलि (बिहीबार) मात्रै गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार