५ माघ २०८१, शनिबार

ग्रामीण क्षेत्रका लागि नविकरणीय उर्जा कार्यक्रम



धनगढी । सात नम्बर प्रदेशमा बुधबारबाट ग्रामीण क्षेत्रका लागि नविकरणीय उर्जा कार्यक्रम शुरु भएको छ ।
बुधबार धनगढीमा सो कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उर्जा लगायतका क्षेत्रमा अब परिणाम दिने गरी काम गरिने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले उर्जाका क्षेत्रमा के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको बताए ।
सो अवसरमा नेपालका लागि जर्मनी राजदूत रोलान्ड सेफरले उर्जा, पर्यटन र सिंचाईं लगायतका विषयमा जर्मनी सरकार नेपाललाई सहयोग गर्न तयार बताए ।
नविकरणीय उर्जाको पहुँच बढाउन स्थानीय सरोकारवाला र निजी क्षेत्र, वित्तीय संस्था र नागरिक समाजसँग समन्वय गरेर सञ्चालन हुने कार्यक्रम नेपाल सरकार र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको साझेदारीमा वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्र र जिआइजेडले सञ्चालन गर्ने जनाइएको छ ।
सो कार्यक्रम अन्र्तगत स्थानीय स्तरको सरकारको क्षमता अभिबृद्धि, संस्थागत विकास र समन्वय गर्दै नविकरणीय उर्जाको पहुँच उल्लेख्य रूपमा बढाउन प्रयास गरिने बताइएको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई नयाँ संघीय संरचना अनुरूप रूपान्तरण गर्दै प्रदेशीय सरकार र स्थानीय तहका सरकारहरूलाई नविकरणीय उर्जा प्रवद्र्धन गर्ना सहयोग गरिने जनाइएको छ ।
नेपालमा अक्टोबर २०१६ सेप्टेम्बर देखि सञ्चालित कार्यक्रम आगामी वर्ष २०१९ सम्म सञ्चालनमा रहने बताइएको छ ।
सो कार्यक्रमका लागि जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले पचास करोड रुपैयाँ खर्च गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमरबहादुर पालले बताए ।
कार्यक्रममा ग्रामीण क्षेत्रका लागि नविकरणीय उर्जा कार्यक्रमबारे वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार