राष्ट्रिय खाद्य स्वच्छता दिवस
धनगढी । धनगढीमा बुधबारदेखि दशौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइएको छ । ‘हामी सबैको सरोकार : खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर’ भन्ने नाराका साथ दिवस मनाइने जनाइएको छ ।
बुधबार धनगढीमा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिइयो ।
क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय प्रमुख सुमन धितालले दिवसका क्रममा आज (बिहीबार) सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता तथा विभिन्न स्थानमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विभिन्न प्रचार सामग्री वितरण र भोली (शुक्रबार) सरोकारवालाहरुसंग अन्तक्र्रिया गरिने बताए ।
सो अवसरमा उनले चालू आर्थिक वर्षमा अखाद्य पदार्थ बिक्री गर्ने नौ वटा पसल सञ्चालक विरुद्ध मुद्दा दायर भएको बताए ।
कार्यालयका अनुसार महेन्द्रनगरको आयुष दाना उद्योग, धनगढीको मालिका ट्रेड एण्ड सप्लायर्स, झलारीको जस्मिन स्टोर र ममता किराना पसल, अत्तरियाको तुल्सी मार्केटिङ, सुदिप प्रियान्सु किराना पसल, र शैलेश्वर किराना पसल, टीकापुरको चन्द होटल तथा बझाङको रुद्र किराना पसल विरुद्ध मुद्दा चलाएको छ ।