२ माघ २०८१, बुधबार

हेलो सीएम कार्यक्रम : तीन दिनमा ४१ बढी गुनासा



धनगढी । सात नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सञ्चालन गरेको ‘हेलो सीएम’ कार्यक्रममा तीन दिनको अवधिमा ४१ बढी गुनासा आएका छन् ।
प्रदेशका आम नागरिकका कुनै पनि गुनासा प्रत्यक्ष रूपमा सुन्न तथा तत्काल सम्बोधन गर्न गत सोमबारदेखि मुख्यमन्त्रीको कार्यालयमा ‘हेलो सीएम’ कार्यक्रम शुरु भएको थियो । प्रदेश सरकार गठन भएको तीन महिना पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आम नागरिकले गुनासा तथा सुझाव दिनका लागि १६६०–९१५२७२३ नम्बरको पैसा नलाग्ने (टोलफ्री) नम्बर सञ्चालन ल्याएको छ ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार हेलो सीएम कार्यक्रममा नागरिकका तर्फबाट सबैभन्दा बढी सडक पूर्वाधारसम्बन्धी गुनासा आएका छन् । निर्माणाधीन सडकको गुणस्तरहीन रहेको, तोकिएको मापदण्डअनुसार सडक निर्माण नभएको, सम्झौता भएअनुसार ठेकदारले समयामा काम नगरेको लगायतका गुनासा आएका छन् ।

मुख्यमन्त्री कार्यालयमा बिहीबारसम्म परेका उजुरी

त्यस्तै, विद्युत आपूर्तिमा गडबडी तथा अनियमितताका गुनासा पनि बढी आइरहेका छन् । मुख्यमन्त्री कार्यालयका प्रवक्ता विशनसिंह थापाका अनुसार विद्युत आपूर्ति अवरुद्ध तथा प्रसारण लाइन तथा अन्य उपकरणमा खराबी आउँदा पनि विद्युत प्राधिकरणले समयमा मर्मतसम्भारमा ध्यान नदिने, गर्मीयाममा दिनमा दर्जनौ पटक विद्युत आउने, जाने समस्याबारे आम नागरिकले हेलो सीएममा गुनासा दर्ता गराएका छन् ।
मुख्यमन्त्रीको कार्यालयका प्रवक्ता थापाका अनुसार तीन दिनको अवधिमा हेलो सीएममा शिक्षा तथा विश्वविद्यालय सम्बन्धी तीन वटा गुनासा आएका छन् । त्यस्तै ट्राफिक समस्या, स्वास्थ्य, शान्ति सुरक्षा, सामाजिक सुरक्षा र कृषि सम्बन्धी दुई/दुई, बन्द अवस्थामा रहेका विमानस्थल पुन:सञ्चालन सम्बन्धी एक र बैंकिग, अख्तियार दुरुपयोग, सुशासन, छाडा गाईवस्तु, सञ्चार, खानेपानी समस्याबारे एक/एक उजुरी परेका छन् ।
प्रवक्ता थापाले हेलो सीएममार्फत नागरिकबाट आएका गुनासा तथा उजुरी सम्बोधनका लागि सम्बन्धित निकायमा पठाइएको बताए । उनले भने– “प्रदेश अन्तर्गत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला समन्वय अधिकारीहरूलाई आ–आफ्नो अधिकार क्षेत्रभित्रका निकायसम्बन्धी उजुरी तथा गुनासाहरूको तत्काल उचित सम्बोधन गर्न गराउन अनुरोध गरी पठाएका छौं ।” उनका अनुसार जनताका गुनासा तथा उजुरीको सम्बोधन भए नभएकोबारे मुख्यमन्त्रीको कार्यालयबाट अनुगमन भइरहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार हेलो सीएममा प्रदेशका कोही पनि नागरिकले फोन, एसएमएस तथा फ्याक्समार्फत हरेक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म आफ्ना समस्या, गुनासा तथा सुझाव दिनसक्ने व्यवस्था गरिएको छ ।
‘हेलो सीएम’ मा दुर्घटना, विपद् सम्बन्धी घटना र उद्दार, प्रदेशस्थित सार्वजनिक निकायले वितरण गर्ने सेवासुविधामा भेद्भाव गरिएको वा वञ्चित गरिएको, सार्वजनिक निकायबाट प्रदान गरिने सेवासुविधा प्राप्त गर्न अवरोध वा बाधा पुगेको, गैर कानुनी क्रियाकलाप वा त्यस्तो कार्यबाट कुनै व्यक्तिलाई हानी नोक्सानी भएको, संविधान र प्रचलित कानुन प्रदत्त हक अधिकारको उपयोगमा बाधा, अवरोध वा विभेद गरिएमा, भ्रष्टाचारजन्य तथा महिला हिंसा वा अन्य लैगिंक हिंसासम्बन्धी क्रियाकलाप गरेको लगायतका विषयमा जानकारी गराउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार