२ माघ २०८१, बुधबार

गड्डाचौकीमा आधा किलो सुनसहित दुई पक्राउ



धनगढी । बुधबार बिहान कञ्चनपुरको गड्डाचौकीबाट आधा केजी सुन सहित दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीपमा सुन राखेर लैजादै गरेको गोप्य सूचनाका आधारमा कञ्चनपुर जिल्ला भन्सार कार्यालयको टोलीले आधा केजी सुन सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाइएको छ ।
लेवल नलागेको आधा केजी सुन सहित भारतको हरियाणा प्रान्तका जीतेन्द्र साहनी र सुरेशकुमार पाललाई पक्राउ गरिएको गड्डाचौकीका प्रमुख भन्सार अधिकृत मदन दाहालले बताए । प्रमुख भन्सार अधिकृत दाहालका अनुसार बरामद गरिएको सुनको तौल चार सय ९६ ग्राम रहेको छ ।
गड्डाचौकी इलाका प्रहरी कार्यालयका इञ्चार्ज डिकरदेव पन्तले तस्करले काठमाडौंबाट कुनै व्यक्तिसँग डिलिङ गरेर सुन ल्याएको हुनसक्ने बताए ।
पक्राउ परेका दुवै जना भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।
उनीहरूविरुद्ध भन्सार ऐन २०६४ बमोजिम मुद्दा चलाइने भन्सार कार्यालय गड्डाचौकी जानकारी दिएको छ । सो ऐन अनुसार विगो बमोजिम बराबरको जरिवाना तथा एक महिनादेखि तीन महिनासम्म कैद सजाय अथाव दुबै सजाय हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार