अन्याय महसुस भएमा जनप्रतिनिधि कहाँ आउनुहोस्– उपप्रमुख भट्ट
धनगढी । धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले कोही पनि श्रमिकले आफू अन्यायमा परेको महसुस गरेमा जनप्रतिनिधिकहाँ आउन आग्रह गरेकी छन् ।
डकर्मी मजदूर संघ केन्द्रीय कार्यालय कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको कार्यक्रममा उपप्रमुख भट्टले आफू न्यायिक समितिको संयोजक समेत भएकाले कोही कसैले आफूमाथि कुनै प्रकारको अन्याय भएको महसुश भएमा गुनासो लिएर सिधै उपमहानगरपालिकामा आउन आग्रह गरिन् । ‘काम सानो ठूलो हुँदैन, सबै श्रमिकको काम बराबर हो’ उनले भनिन्– ‘महिलालाई कम ज्याला दिएको गुनासो आउने गरेको छ, हामी नीति निर्माण गरेर समान ज्यालाको पूर्ण कार्यान्वयन गर्छौ ।’
उपप्रमुख भट्टले कार्यस्थलमा महिलामाथि हिंसा हुने गरेका लगायत विभिन्न समस्या सुनिएको बताइन् । भनिन्– ‘अब महिला दिदीबहिनीहरूले न्याय नपाएको महसुस गर्न पाउनु हुनेछैन ।’
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ एक सय २९ विश्व मजदूर दिवसको अवसरमा उनले सबै श्रमिक मालिक बन्न आवश्यक रहेको बताइन् ।
‘तपाईको कामको सम्मान हुनु तपाईको अधिकार हो’ उनले रोजगारदाताले महिला मजदूरलाई कम तलव दिएमा उजुरीसहित उपमहानगरपालिका आउन आग्रह गरिन् ।
कार्यक्रम डकर्मी मजदूर संघ कैलालीका संयोजक सीताराम चौधरीको अध्यक्षतामा भएको थियो ।