अवैध रूपमा रुख काट्ने पक्राउ
सुखड । अवैध रूपमा सालको काँचो गोलिया चिरानी गर्दै गरेको अवस्थामा आइतबार तीन जना पक्राउ परेका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३, बुटकौवाबाट आइतबार बिहान उनीहरूलाई काठ चिरान गरिरहेको अवस्थामा इलाका वन कार्यालयको टोलीले पक्राउ गरेको जनाइएको छ ।
इलाका वन कार्यालय, रामपुरले विशेष सुराकीको आधारमा दानुफाटा नमूना सामुदायिक बनमा गोलिया चिरान गरिरहेको अवस्थामा जगलाल चौधरी, गोपी थापा र भागरत डंगौरालाई पक्राउ गरेको जनाएको छ । इलाका वन कार्यालयको टोलीले सो स्थानबाट एक थान आरी र ३० क्युफिट सालका तीन वटा गोलिया बरामद गरेको छ ।
सहायक वन अधिकृत दिलिप यादवले पक्राउ परेका तीनै जनालाई कारवाहीका लागि आइतबार नै जिल्ला वन कार्यालय कैलाली चलान गरिएको बताए ।
यसअघि गत मंगलबार र शनिबार बर्दगोरिया गाउँपालिकाकै वडा नम्बर–३ को रानीकुण्डा र बुटकौवा क्षेत्रबाट अबैध काठ सहित ट्याक्टर र मोटरसाइकल पक्राउ गरिएको थियो । सो घटनामा काठ तस्करको भने अहिलेसम्म पहिचान हुन सकेको छैन । यसबारे अनुसन्धान भइरहेको सहायक वन अधिकृत यादवले बताएका छन् ।