प्रदेश सभा बैठक : नीति तथा कार्यक्रममाथिको छलफल
धनगढी । सात नम्बर प्रदेश सभाको शुक्रबारको बैठकमा पनि सांसदहरूद्वारा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रह्यो ।
बैठकमा भाग लिएका प्रदेश सभा सदस्यहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, कृषि र सडकका सवाल उठाएका छन् ।
छलफलमा भाग लिदै एमालेका सांसद मनाकुमारी साउँदले रोजगारीका लागि भारतका विभिन्न शहर जाने नेपालीहरूले पैसा नभएर एचआइभी/एड्स भित्राउने क्रम बढेको चर्चा गरिन् ।
नेकपा माओवादी केन्द्रका महेशदत्त जोशीले प्रदेश सातका सम्पूर्ण सडकका छेउछाउमा बनेका थुप्रै घर, होटलसंग जग्गाधनी पुर्जा नभएकोले सरकारले उनीहरूलाई लालपूर्जा दिन माग गरिन् ।
उनले मानसरोवर यात्रा सहज बनाउन धनगढीदेखि भारतको लखनउसम्म हवाइ सेवा शुरु गर्न तथा दार्चुला र बझाङबाट हेलिकोप्टरको सेवा दिन माग गरे ।
माओवादी केन्द्रका अर्का सांसद मानसिंह धामीले गड्डाचौकीदेखि चिसापानीसम्म ६ लेनको सडक बनाउन माग गरे ।
एमालेका सांसद कृष्णराज सुवेदीले जल, जमिन, जंगल र मानवस्रोतको अधिकतम प्रयोग गर्ने नीति ल्याउनुपर्ने र भ्रष्टाचारमा सून्य सहनशिलता अपनाउनुपर्ने बताए ।
बैठकमा भाग लिने अधिकांस प्रदेश सभा सदस्यहरूले स्वास्थ्य स्वयंसेविकासँगै आमा समूहलाई पनि प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने, जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयको भूमिका बृद्धि गर्नुपर्ने माग गरे ।
एमालेका माया तामाङ बोहराले बीचैमा स्कुल छोडेकाहरूलाई स्वरोजगार बनाउने कार्यक्रम ल्याउन माग गरिन् ।
राष्ट्रिय जनता पार्टीका सांसद मालामति कुमारी रानाले सरकारको नीति र कार्यक्रम ‘मलमपट्टी लगाएको तर औषधि दिन बिर्से’ जस्तो भएको टिप्पणी गरिन् ।
एमालेका रतन थापाले प्रदेशका बनजंगलमा वर्षौदेखि करोडौं मूल्यका काठ कुहिएर रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
माओवादी केन्द्रका सांसद वीरमान चौधरीले भारतबाट आउने मल, खाद, तरकारी, फलफूल र खाद्यान्नको गुणस्तर मापन गर्न जरुरी रहेको बताए ।
एमालेका सुशीला बुढाथोकीले महिलामा हुने स्तन र पाठेघर क्यान्सर रोग नियन्त्रणका लागि नियमित घुम्ती शिविर सञ्चालन गर्नुपर्ने बताइन् ।
प्रदेश सभाको अर्को बैठक बैशाख ३ गते सोमबार हुने भएको छ । प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माका अनुसार नीति तथा कार्यक्रममाथिको छलफल सकिएकोले सोमबारको बैठकमा प्रदेश सभा सदस्यले उठाएका प्रश्नको मुख्यमन्त्री वा तोकिएको मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ । चैत २८ गते प्रदेश प्रमुख मोहनराज मल्लले सरकारका तर्फबाट प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बिहीबार पनि छलफल भएको थियो ।
नीति तथा कार्यक्रममाथि उठेका मुख्य बुँदाहरू
– गड्डाचौकी चिसापानी सडक छ लेन सडक,
– मुख्य र सहायक सडकछेउमा रहेका जग्गा दर्ता गरेर राज्यको कर बढाउनुपर्ने,
– मानसरोवर जानका लागि दार्चुला र बझाङमा हेलिप्याड र हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने,
– भारतको लखनउदेखि धनगढीसम्मको हवाइ सेवा सञ्चालन,
– बझाङ, दार्चुला र बाजुरामा जडीवुटी संकलन र प्रशोधन केन्द्र स्थापना,
– वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने,
– स्तन र पाठेघर क्यान्सरको चेकजाँचका लागि घुम्ती शिविर,
– आमा समूहलाई प्रोत्साहित गर्ने कार्यक्रम ।