१ माघ २०८१, मंगलवार

बिडिएस कप क्रिकेट : गजेन्द्र बने एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी



बैतडी । बैतडीमा जारी बिडिएस कप क्रिकेटमा गजेन्द्र बोहराले एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन् ।
निंगलाशैनी क्रिकेट क्लव, देहिमाडौँका ब्याट्सम्यान बोहराले लिग चरणको खेलमा केदारशक्ति क्रिकेट क्लवसँगको खेलमा एक सय ४३ रन बनाएर नयाँ रेकर्ड कायम गरे ।
निंगलाशैनी खेल मैदानमा उनले ५५ बलमा एक सय ४३ रन बनाए । यसक्रममा बोहराले सात छक्का र २१ चौका प्रहार गरे । उनले ४२ बलमै शतक बनाएका थिए ।
बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टका अनुसार यसअघि बिडिसिए कपको एउटै इनिङमा सर्वाधिक रन बनाउनेको सूचीमा कैलपाल क्रिकेट क्लबका जनक चन्दको नाम सामेल थियो । चन्दले एक सय नौ रन बनाएका थिए ।
नयाँ रेकर्ड बनाएका बोहराले गत असारमा काठमाडौँमा भएको राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम यू–१६ को टिमबाट खेलिसकेका छन् । उनी गत वर्ष नै काठमाडौंमा भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पनि काठमाडौं किंग्स इलेभनका लागि खेलेका थिए ।
बोहरा विगत दुई वर्षदेखि काठमाडौंस्थित हिमालयन क्रिकेट एकेडेमीमा आवद्ध छन् । उनले भारतको मुम्बईस्थित एडभान्स क्रिकेड एकेडेमीबाट तीन वर्षसम्म प्रशिक्षणसमेत लिएका थिए । दशरथचन्द नगरपालिका–२ देहिमाडौँका १५ वर्षीय बोहरा दाँया हाते ब्याट्सम्यान हुन् ।
केदारशक्ति क्रिकेट क्लबबिरुद्धको खेलमा बोहराको एक सय ४३ रनको व्यक्तिगत स्कोरसहित निंगलाशैनीले चार विकेटको क्षतिमा २० ओभरमा तीन सय तीन रन बनाएको थियो । ‘बिडिसिए इतिहासमै कुनै एउटा टिमले बनाएको यो नै सबैभन्दा उच्च स्कोर हो,’ संघका कोषाध्यक्ष भट्टले भने ।
सो खेलमा निंगलाशैनीका प्रकाश नाथले ६० तथा लक्ष्मण बोहराले ५१ रन बनाए । तीन सय चार रनको विजयी लक्ष्य पछ्याएको केदारशक्तिले १० दशमलव एक ओभरमा ५१ रन बनायो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार