१८ पुष २०८१, बिहीबार

कैदीबन्दीलाई झुल वितरण



धनगढी । कैलाली कारागारमा रहेका कैदीबन्दीहरूलाई बुधबार विषादीयुक्त (किटनाशक) झुल वितरण गरिएको छ ।
धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले कैलाली कारागारका नाईके महेन्द्र महरालाई चार सय ५० थान कटिनाशक झुल प्रदान गरे । सो अवसरमा नगर प्रमुख वडले तराईका जिल्लामा औंलो रोग जनस्वास्थ्य समस्या बन्दै गएको र उपमहानगरपालिकाले प्रत्येक वडामा झुल वितरण गरी सकेको जानकारी दिए ।
कैलाली कारागारमा तीन सय ७८ पुरुष, ३० महिला र दुई नाबालिका गरी चार सय १० जना कैदीबन्दी रहेका छन् ।
झूल वितरण कार्यक्रममा कैलालीका जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाई, धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी, जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाईजर हरिप्रसाद भट्ट, उपमहानगरपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र भट्ट लगायतको उपस्थिति रहेको थियो ।
औलो नियन्त्रण गर्ने नीति अनुरूप प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले झुल वितरण गर्ने कार्य गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत कारागारमा रहेका कैदीबन्दी र सुरक्षाकर्मीलाई सो सामाग्री वितरण गरिएको कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाले कारागारमा रहेका महिला कैदीको कक्षमा टिभी सहयोग गरेको छ । कारागारमा रहेका महिलाको कोठामा टिभी नभएको गुनासो आएपछि उपमहानगरपालिकाले सहयोग गरेको नगर प्रमुख वडले बताए ।
नगर प्रमुख वडले रत्ना नेपालीलाई टिभी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार