२ माघ २०८१, बुधबार

नगर प्रमुखमाथि गोली प्रहार घटना : अभियुक्तहरू धरौटी तारेखमा छुटे



धनगढी । गत फागुन २८ गते राति कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार गरेको आरोपमा थुनामा रहेका चार जना धरौटी तारेखमा छुटेका छन् ।
कैलाली जिल्ला अदालतले घटनाका आरोपी चार जनामध्ये तीन जनालाई धरौटीमा तथा एक जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले शुक्रबार प्रेषित गरेको प्रेस विज्ञप्तिअनुसार जनही ४५ हजार रुपैयाँ धरौटी तारेखमा घोडाघोडी ननगरपालिका वडा नम्बर १ लक्ष्मीपुरका ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ का ३६ वर्षीय भरतबहादुर शाह र टीकापुर नगरपालिका वडा नम्बर १, ब्लक नम्बर १९ का ३० वर्षीय हृदयराज बोगटी छुटेका छन् ।
त्यस्तै, अदालतले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३० वर्षीय पूर्णप्रसाद खनाललाई साधारण तारेखमा रिहा गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) बाट नगर प्रमुख चौधरीमाथि विभिन्न आरोप लगाएर चन्दाका साथै विभिन्न माग राखेर धाकधम्की दिने तथा प्रेस विज्ञप्ति प्रकाशित गर्ने कार्य गरिआएकोमा फागुन २८ गते राति ८ बजेतिर नगर प्रमुखलाई बाहिर बोलाएर बत्तीको मेनस्वीच र ढोका बन्द गरी टाउको तथा खुट्टामा खुकुरीले प्रहार गरेको र कम्मरमा गोली प्रहार गरेका थिए ।
घटनापछि प्रहरीले विप्लव समूहका चार जनालाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार