२ माघ २०८१, बुधबार

‘म घर जान चाहन्छु, वातावरण बनाइदिनुस्’



धनगढी । ‘म घर जान चाहन्छु, तपाईहरूले वातावरण बनाइदिनुहोस्’ बोक्सीको आरोपमा अनाहकमा बर्बर ढंगले कुटपिट तथा यातना भोगेकी कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५, देउकलियाकी १८ वर्षीया राधा चौधरीले भनिन्– ‘म आफ्नै घरमा बसेर आफ्नो पढाई पुरा गर्न चाहन्छु ।’ गत फागुन २४ गते भोलेबाबा भनिने रामबहादुर चौधरी, पार्वतीमाता भनिने किस्मति, स्मारिका लगायतले राधामाथि बोक्सीको आरोप लगाएर छ घन्टासम्म निर्मम ढंगले कुटपिट गर्नुका साथै यातना दिएका थिए ।
घटनापछि राधाको केही दिन सेती अञ्चल अस्पतालमा उपचार भएको थियो । उपचारपछि उनलाई हाल ओरेक नेपालको धनगढीस्थित सेफ हाउसमा राखिएको छ ।
घोडाघोडी नगरपालिकाको राष्ट्रिय माध्यािक विद्यालयमा कक्षा ११ मा अध्ययनरत राधा पुरानै अवस्थामा जीवनयापन गर्न चाहन्छिन् । तर, उनलाई कहिलेकाही त्यो घटना पुनरावृत्ति पनि हुने हो कि भन्ने डर पनि लाग्छ ।
‘म घरमै बसेर आफ्नो अध्ययन पुरा गर्न चाहन्छु’ मंगलबार प्रदेश सांसद चुनकुमारी चौधरीसहित चार जना मिलेर संकलन गरेको राहत रकम हस्तान्तरण कार्यक्रममा उनले भनिन्– ‘तर, अझैं गाउँ र घरमा बस्ने वातावरण बन्न सकेको अनुभव भएको छैन, तपाईहरूले सहयोग गरिदिनुपर्‍यो ।’
उनको मनमा कताकता गाउँघरका साथीभाइ, छरछिमेकीले ‘बोक्सी’ भनेर अपहेलना गर्ने, दुव्र्यवहार गर्छन् कि भन्ने पनि त्रास छ ।
कार्यक्रममा प्रदेश सांसद चुनकुमारीले ७ नम्बर प्रदेशमा छाउपडी, बोक्सी लगायतका कुप्रथा र कुसंस्कार अहिले पनि विद्यमान रहेको चर्चा गरिन् । भनिन्– ‘सामाजिक, सांस्कृतिक कुसंस्कार तथा कुप्रथा अन्त्यका लागि समाजमा जनचेतनामूलक कार्यक्रम अझ व्यापक ढंगले सञ्चालन गर्न आवश्यक छ ।’ उनले आगामी दिनमा प्रदेशमा यस्ता घटना दोहोरिन नदिन कडा नीति बनाएर लागू गरिने बताइन् ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य लक्ष्मीकुमारी चौधरीले सो घटनाको जति निन्दा गरे पनि कम हुने बताइन् । उनले राधामाथि भएको घटनाले नेपालको अन्तर्राष्ट्रिय जगतमै बदनामी भएको बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले समाजमा हुने कुप्रथा, कुसंस्कार विरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।
राधालाई रकम हस्तान्तरण
पीडित राधालाई प्रदेश सांसद चुनकुमारी सहितले संकलन गरेको रकम उपलब्ध गराइयो ।
प्रदेश सांसद चुनकुमारी तथा हाल बेलायतमा रहेका रामप्रसाद राई, अनुराधा राई र सुस्मा राईले प्रदान गरेको ३६ हजार रुपैयाँ पीडित राधालाई प्रदान गरियो ।
सो अवसरमा प्रदेश सांसद चुनकुमारीले भनिन्– ‘अब राधाले महिला हिंसाको अन्त्यका लागि अभियन्ताका रूपमा अभियानमा जुट्नु पर्दछ ।’ उनले छिट्टै ‘कुरीतिविरुद्ध साझा अभियान’ को थालनी समेत गरिने बताइन् । उनले अभियानमार्फत सबैखाले हिंसा न्यूनीकरणको लागि वकालत गर्ने, पीडितको परिपुरणको लागि पहल गर्ने तथा सरकारलाई दवाव दिइने बताइन् ।

चैत ०७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार