२ माघ २०८१, बुधबार

सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुँदै



धनगढी । प्रदेश नम्बर ७ को खप्तड क्षेत्रमा अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलनको आयोजना गरिने भएको छ ।
मानब प्रेरणाको पवित्र भूमिको रूपमा रहेको तथा अनुपम भूभागको रूपमा हेरिएको खप्तडमा नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान, गोदावरी कैलालीले आगामी बैशाखको अन्तिम साता अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलनको आयोजना गर्ने जनाएको छ ।
खप्तडलाई विश्व समुदायलाई जानकारी गराउन र यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी रोजगारीको अवसरहरू सिर्जना गर्दै आर्थिक समृद्धितर्फ लग्न यो पदयात्रा गरिन लागेको आयोजकले जानकारी दिएको छ ।
प्रतिष्ठानले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार, साहित्यकार, लेखकको सहभागितामा साँस्कृतिक पुनर्जागरण आन्दोलनको रूपमा आगामी बैशाखको अन्तिम साता सम्मेलन गर्ने प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले बताए ।
अध्यक्ष जोशीले सम्मेलनमा नेपाल र भारतका ५० बढी साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागिता हुने बताए ।
उनले पदयात्रा तथा काव्य सम्मेलनले खप्तड क्षेत्रको विकास र प्रदेश नम्बर ७ को आर्थिक मेरुदण्डको रूपमा रहेको धार्मिक र प्राकृतिक पर्यटनको सम्भावनालाई पर्यटकीयस्थल बनाउन टेवा पुग्ने बताए ।
उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाली सेना लगायतका समेत सहभागी गराउने लक्ष्य लिइएको पदयात्रा तथा सम्मेलन कार्यक्रम अन्तर्गत चारधाम यात्राको सम्भाव्यता अध्ययनका लागि गोदावरी, पर्शुराम, दिल्पेश्वर र वैद्यनाथको अवलोकन दर्शन गराइने बताए ।
खप्तडको उचाई १० हजार फिटदेखि ११ हजारसम्म रहेको छ । धार्मिक शास्त्र अनुसार हिन्दूहरूको विश्व प्रसिद्ध तीर्थस्थल कैलाश पर्वत र मानसरोवरको जल प्रभाव क्षेत्रको रूपमा यस प्रदेशको खप्तड देवभूमिको केन्द्रबिन्दु मानिएको छ । शास्त्र पुराणहरूमा खेचर पर्वतका नामले वर्णित भूस्वर्ग पर्वतकी रानी खप्तड देवलोकको आंशिक राजधानी हो ।
यस अघि २०६३ सालमा कैलाली उद्योग वाणिज्यको सहकार्यमा झिग्रानादेखि खप्तडसम्म पदयात्रा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार