२ माघ २०८१, बुधबार

औषधिको गुणस्तरबारे अनुगमन गरिने– मन्त्री सोडारी



धनगढी । प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेशमा औषधिको गुणस्तरबारे नियमित अनुगमन प्रणाली लागू गरिने बताएका छन् ।
शनिबार धनगढीमा आयोजित नेपाल औषधि बिक्री प्रतिनिधि संघ, धनगढीको नवौं अधिवेशनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री सोडारीले मान्छेको जीवनसँग जोडिएको स्वास्थ्यबारे औषधि व्यावसायी तथा बिक्री प्रतिनिधिहरू अझ बढी संवेदनशील हुन आग्रह गरे ।
उनले प्रदेश सरकारले कानुनमार्फत औषधि व्यावसायी तथा बिक्री प्रतिनिधिहरूको हकअधिकार व्यवस्थित गरिने बताए ।
संघका धनगढी ईकाई अध्यक्ष डम्मर ऐरीको अध्यक्षतामा भएको कार्यक्रममा औषधि व्यावसायी संघ सेतीका अध्यक्ष गयाप्रसाद कुश्मी, उपाध्यक्ष दुश्यन्त बस्नेत, कमल उपाध्याय, कमल पनेरू लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका सचिव टेकराज जोशीले सञ्चालन गरेको कार्यक्रममा सहसचिव खडकसिंह धामीले स्वागत गरेका थिए ।

संघको अध्यक्षमा शाह निर्वाचित
यसैबीच, औषधि व्यावसायी तथा बिक्री प्रतिनिधि संघ, धनगढीको अध्यक्षमा मीनबहादुर शाह निर्वाचित भएका छन् ।
शनिबार धनगढीमा भएको संघको नवौं अधिवेशनबाट शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा दिनेश भट्ट, उपाध्यक्षमा चक्र कडायत र सन्दीप चौधरी विजयी भएका छन् ।
त्यस्तै, महासचिवमा यज्ञराज जोशी, कोषाध्यक्षमा शक्ति शाह, सहकोषाध्यक्षमा हरिशचन्द्र जोशी, सचिवमा दिनेश ठकुराठी र चक्र चन्द निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यमा मुकुन्द सिंह, गौरव अन्तजय, राजिव चौधरी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार