२ माघ २०८१, बुधबार

करण हत्या घटना : तीन दिनदेखि टीकापुर तनावग्रस्त



टीकापुर । टीकापुरमा होली देउडा खेल्ने क्रममा हत्या गरिएका करण थापाका हत्यारालाई सार्वजनिक गरी कडा कानुनी कारवाहीको माग गर्दै भइरहेको आन्दोलनका कारण टीकापुर तीन दिनदेखि तनावग्रस्त भएको छ ।
गत १७ गते राति होली देउडा खेल भइरहेको टीकापुरको खेलमैदानमा २१ वर्षीय करणको हत्या भएको थियो ।
घटना भएको चार दिन भइसक्दा पनि प्रहरी प्रशासनले हत्यारालाई सार्वजनिक नगरेको भन्दै आफन्त तथा स्थानीयले आन्दोलन चर्काएका छन् । आइतबार पनि टीकापुर बन्द रह्यो ।
प्रदर्शनकारीले आइतबार टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलको घर घेराउ गरेका थिए । प्रहरीले नगर प्रमुख रावलको घरमा सुरक्षा पहरा दिइरहेको छ । आइतबार दिउसो टीकापुर बजारमा स्थिति तनावग्रस्त भएपछि नियन्त्रणका लागि प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको छ ।
कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले अनुसन्धानका क्रममा शनिबार नै हत्यामा दुई जनाको संलग्नता रहेको प्रमाणित भइसकेको बताए । तर, आइतबार साँझसम्म पनि हत्याराको नाम सार्वजनिक गरिएको छैन । प्रहरीले घटनामा संलग्न भएको आशंकामा १२ जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको जनाएको छ ।
तीन दिनदेखि टीकापुरका बजार, शैक्षिक संस्था, कलकारखाना बन्द छन् । स्थिति सामान्य बनाउन सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ ।
तीन दिनदेखि मृतक करणको शव टीकापुर अस्पतालमा रहेको थियो । आइतबार बिहान मृतकका परिवारसँगको छलफलपछि शवको पोष्टमार्टम गरिएको छ ।
टीकापुरका नगर प्रमुख रावलले टीकापुरमा शान्ति बनाइराख्न तथा गलत प्रचारप्रसार र होहल्ला नगर्न सबैमा आग्रह गरेका छन् । नगर प्रमुख रावलले कुनै जात विशेषलाई जोडेर अशान्ति नबढाउन नगरवासीमा अपिल गरे । उनले हत्यामा संग्लग्न जो कोही भए पनि कानुनी कारवाहीको दायराबाट उन्मुक्ति नपाउने दोहोर्‍याए ।
यसैबीच, नेपाली काँग्रेस टीकापुर नगर समिति आइतबार प्रेस विज्ञप्ति जारी गर्दै करण थापा हत्या घटनाको घोर भ्रत्सर्ना गर्दै दु:ख व्यक्त गरेको छ ।
नेपाली काँग्रेसले विज्ञप्तिमार्फत टीकापुरमा शान्ति सुरक्षाको प्रत्याभूति दिई घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कारवाही गर्न तथा शक्ति र सत्ताको आडमा प्रहरी प्रशासनलाई गलत प्रयोग गरिएमा चुप लागेर नबस्ने चेतावनी दिएको छ ।
नगर सभापति मोतिराम भण्डारी तथा उपसभापति नरेशकुमार खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘घटनामा संलग्न अपराधीलाई चाडो नियन्त्रणमा लिएर कडा कानुनी कारवाही गर्न सरकारसँग माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार