निष्ट लिटिल फ्लावर प्रिमियर लीग शुरु
धनगढी । धनगढीमा मंगलबारदेखि निष्ट लिटील फ्लावर प्रिमियर लीग क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजक लिटिल फ्लावर बोर्डिङ स्कूल र सिद्धार्थ शिशु सदन विजयी भएका छन् ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लिटिल फ्लावरले धनगढी माविलाई चार रनले पराजित गर्यो ।
टस जितेर व्याटिङ गरेको लिटील फ्लावरले १८ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रन बनायो ।
लिटिल फ्लावरका नारायण जोशीले २९ बलमा ५३ रनको विस्फोटक अर्धशतकीय पारी खेले । बलिङतर्फ धनगढी माविका कप्तान रोशन रावल र अमन पन्थीले तीन/तीन विकेट लिए भने भूपेन्द्र थापाले दुई विकेट लिए ।
एक सय ३९ रनको विजयी लक्ष्यका साथ ब्याटिङ गर्न ओर्लिएको धनगढी उमावि २० ओभरमा ६ क्षतिमा एक सय ३४ रनमा समेटियो । विजयका लागि अन्तिम ओभरमा १७ रन आवश्यक रहेकोमा धनगढी माविले १२ रन मात्रै बनाउन सक्यो ।
धनगढी माविका अमन लामा र सुवोध ऐरले २८/२८ रन बनाए । यम कार्कीले २४ रन बनाए ।
धनगढी माविमाथि चार रनको रोमाञ्चक जीत दिलाउने क्रममा लिटील फ्लावरका नारायण जोशी र अनिल थापाले दुई/दुई विकेट लिए । खेलको म्यान अफ द म्याच लिटील फ्लावरका नारायण जोशी भए ।
दोस्रो खेलमा सिद्धार्थ शिशु सदनले कञ्चनपुरको वीचडम एकेडेमीलाई ४२ रनले पराजीत गर्यो ।
टस जितेर व्याटीङ गरेको सिद्धार्थ शिशु सदनले निर्धारित २० ओभरमा पाँच विकेट क्षतिमा एक सय ४३ रन बनायो । शिद्धार्थका किरण ठगुन्नाले ४९ र प्रकाश सिंहले ४४ रन बनाए ।
एक सय ४४ रनको विजयी लक्ष्य सहित ओर्लिएको बीचडम १७ दशमलव तीन ओभरमा एक सय एक रनमा अलआउट भयो ।
वीचडमका वसन्त कार्कीले ३८ र लोकेश बमले १८ बनाए ।
यसअघि प्रतियोगिताको एक समारोहबीच प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरेका थिए ।
सो अवसरमा मन्त्री सोडारीले धनगढी खेलकुदको शहरका रूपमा विकास हुँदै गएको चर्चा गरे ।
प्रतियोगितामा देशभरीका १२ टिमले सहभागीता जनाएको प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले बताए ।
प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले २५ हजार रुपैयाँ पुरकार प्राप्त गर्ने छन् ।
आयोजक लिटील फ्लावर बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीका अनुसार आज तीन वटा खेल हुनेछन् ।