७ पुष २०८१, आईतवार

एपिएफले जित्यो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधी



धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।
आइतबार फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपिएफले पूर्वाञ्चललाई सात विकेटले हराउँदै उपाधी जित्यो ।
जीतसँग एपिएफले पाँच लाख रुपैयाँ पुरस्कार र ट्रफी प्राप्त गर्‍यो । उपविजेता पूर्वाञ्चलले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।
ठूलो संख्यामा रहेका दर्शकसामु टस हारेर ब्याटिङको निम्तो पाएको पूर्वाञ्चलले फाइनल खेलको जस्तो प्रदर्शन गर्न सकेन । एपिएफको घातक बलिङ सामु कुनै पनि बेला खुलेर खेल्न नसकेपछि पूर्वाञ्चल २० ओभरमा पाँच विकेट क्षतिमा ६० रनको सानो स्कोरमा सीमित भयो ।
एपिएफका रेखा रावल, करुणा भण्डारी, ऋतु कनौजिया, अञ्जली चन्द तथा सीता रानामगरले एकएक विकेट लिए पनि कसिलो र सटिक बलिङ गरेपछि पूर्वाञ्चलका दुई जना बाहेक अरू ब्याट्सम्यानले दोहोरो अंक पनि छुन सकेनन् ।
पूर्वाञ्चलका काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाएका थिए ।
प्रति ओभर ३.०५ रनको झिनो विजय लक्ष्य एपीएफले १६ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।
एपिएफका ज्योति पाण्डेयले २२ र सरिता मगरले अविजीत १५ रन बनाइन् । पूर्वाञ्चलकी शान्ति चौधरी र संगीता राईले एक एक विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच एपिएफकी ज्योति पाण्डेय भइन् । प्रतियोगिताको वुमन अफ द सिरिज भने पूर्वाञ्चलका कप्तान रुवीना क्षेत्री बनिन् । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगितामा उत्कृष्ट बलर पनि रुवीना बनिन् । उत्कृष्ट व्याट्स वुमन पूर्वाञ्चलका काजोल श्रेष्ठ बनिन् । उनले प्रतियोगीतामा एक सय छ रन बनाएकी थिइन् । उदयमान खेलाडी सुदूरपश्चिमकी लक्ष्मी साउँद भइन् ।
फेयर प्ले टिमको पुरस्कार सुदूरपश्चिमले पाएको छ । उत्कृष्ट सबै खेलाडीलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार