२ माघ २०८१, बुधबार

भट्ट मुख्यमन्त्री नियुक्त



धनगढी । सात नम्बर प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।
प्रदेश प्रमुख मोहनराज मल्लले बिहीबार दिउँसो १ बजे भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । माओबादी संसदीय दलका नेता भट्टलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा मुख्यमन्त्रीको नियुक्ती दिइएको थियो ।

सात नम्बर प्रदेशका प्रमुख मोहनराज मल्लसंग मुख्यमन्त्रीको नियुक्तीपत्र लिदै माओबादीका संसदीय दलका नेता त्रिलोचन भट्ट । तस्बीर : प्रकाशविक्रम शाह

भट्टलाई नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्ती दिइएको हो । सो धारा अनुसार संसदमा कुनै दलको स्पष्ट वहुमत नहुँदा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नियुक्ती गर्न सकिने व्यवस्था छ ।
सात नम्बरको संसदमा ५३ जना सदस्य छन् । तर वहुमत २७ जना सांसद कुनै दलसंग छैनन् । भट्ट नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री भएका हुन् । संसदमा एमालेका २५ र माअ‍ेवादीका १४ जना सांसद छन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव हिरालाल चौधरीका अनुसार मुख्यमन्त्रीको सपथ फागुन ५ गते शनिवार ३ बजे हुने भएको छ । शुक्रबार सूर्यग्रहण भएकोले मुख्यमन्त्रीको सपथ कार्यक्रम शनिबार गर्न लागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टले आफू यो क्षेत्रका मुख्य स्रोत कृषि, पर्यटन, बन, जडीवुटी र नदीनालाको उचित परिचालन गरेर रोजगारी श्रृजना गर्न लागि पर्ने बताए ।
उनले जनताको भावना, चाहना अनुसार संघीयता कार्यान्वयन गर्ने आफ्नो प्रमुख दायित्व रहको बताए । मुख्यमन्त्री भट्टले आफ्नो सपथ ग्रहणका दिन फागुन ५ गते सानो आकारको भएपनि मन्त्रीमण्डल विस्तार गर्ने जानकारी पनि दिए । एमालेले कुन माओवादीले कुन मन्त्रालय लिने भन्ने टुङ्गो पनि चाँडै लाग्ने उनले बताए ।
संबिधान अनुसार सात नम्बर प्रदेशका ५३ जना सांसदको बीस प्रतिशत ११ जना मन्त्रीमण्डल बनाउन पाइने भएपनि एमाले र माओबादीले कम्तिमा सात र बढीमा नौ सदस्यीय सरकार गठन गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ ।
माओबादीका सात नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले आफूले नौ सदस्यीय मन्त्रीमण्डल बनाउन गरेर छलफल चलाइरहेको जानकारी दिनुभयो ।

को हुन मुख्यमन्त्री भट्ट
४८ वर्षीय मुख्यमन्त्री भट्ट माओबादी पार्टीका पोलिटब्यूरो सदस्य तथा डोटी जिल्ला इन्चार्ज हुनुहुन्छ । उहाँ प्रसाद भट्ट र शारदा भट्टका साहिला छोराका रुपमा डोटीमा जन्मिुनु भएको हो । आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मिएका भट्टले आठ कक्षाको पढाई छोडेर १४ वर्षसम्म भारतमा विताउनु भएको छ । भारतको पञ्जावमा पाँच वर्ष र मुम्बईमा १२ वर्ष गरी १७ वर्षसम्म चौकीदारका रूपमा काम गरेका उहाँले गर्वका साथ सुनाउने गर्नुहुन्छ । उहाँले २०४७ सालमा अखिल भारत नेपाल एकता समाजको सदस्यबाट राजनीति सुरु गर्नुभएको हो ।
माओवादी युद्ध शुरु भएपछि उहाँ २०५६ सालबाट माओबादीको पूर्णकालीन सदस्य बन्नुभएको हो । भारत प्रवासबाटै जिल्ला कमिटी डोटीको सदस्य तथा क्षेत्रीय ब्यूरो सदस्य रहेका उहाँले २०५८ सालदेखि महाराष्ट्र मुम्बईको नेपाली जनअधिकार सुरक्षा समितिमा रहेर काम गर्नुभएको हो ।
२०६१ सालमा पार्टीको निर्णयअनुसार नेपाल फर्किएका उहाँ २०६२ सालमा माओवादीको डोटी सचिव तथा २०६३ सालमा जिल्ला सहइञ्चार्ज र ०६४ सालबाट जिल्ला इञ्चार्जका साथै २०७१ साददेखि पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।
उहाँ २०६४ र २०७० सालको संविधान सभा सदस्य निर्वाचन लडेर पराजित हुनु भएको थियो । २०७४ को चुनावमा भने उहाँ डोटी ख बाट प्रदेश सदस्यमा निर्बाचित हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार