२ माघ २०८१, बुधबार

आयोडिनयुक्त नुनबारे र्‍याली



हसुलिया । आयोडिनयुक्त नून सम्बन्धी प्रचारप्रसारका लागि बुधबार कैलाली गाउँपालिकाको हसुलियामा जनचेतनामुलक र्‍याली निकालिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन, अञ्चल कार्यालय धनगढीको आयोजना तथा स्वास्थ्य चौकी हसुलिया र सुआहारा कार्यक्रमको समन्वयमा सो चेतनामूलक र्‍याली प्रर्दशन गरिएको जनाइएको छ ।
कैलारी गाउँपालिकास्थित स्वास्थ्य चौकीदेखि विभिन्न जनचेतनामूलक नारा अंकित प्लेकार्ड सहित निकालिएको र्‍याली हसुलियाको दिपेन्द्र माविमा पुगेर समापन भएको थियो ।
र्‍यालीपछि आयोजित कोणसभामा साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले आयोडिनको कमिबाट हुने रोगको उपचार नहुने भएकाले ‘दुई बालबालिकाको फोटो अंकित’ पाकेटको नून प्रयोग गर्न आग्रह गरे ।
सहायक महाप्रबन्धक पाण्डेले मानिसले जतिसुकै प्रकारका खानाका परिकार खाए पनि शरीरलाई आवश्यक आयोडिन नुनमा मात्रै प्राप्त हुने बताए ।
उनले आयोडिनको कमिले बच्चा विकलाङ्ग अवस्थामा जन्मने, लाटो, लठेब्रो हुने, मानसिक कमजोरी तथा सुस्त दिमाग हुने, गलगाड हुने लगायतका समस्या हुने भएकोले आयोडिन युक्त भएको ‘दुई बालबालिकाको तस्वीर अंकित’ पाकेटको नुन मात्र सेवन गर्न आग्रह गरे ।
उनले अहिले पनि सिमावर्ती भारतीय बजारबाट आउने घुमन्ते व्यापारीहरूले विभिन्न सामग्रीसंग ढिकेनुन साट्ने चलन रहेको चर्चा गर्दै त्यस्तो नुन स्वास्थ्यका लागि हानिकारक रहेको बताए । उनले अहिले पनि २० प्रतिशत उपभोक्ताले ढिके नुनको प्रयोग गरिरहेको तथ्यांकले देखाएको उनले बताए ।
कार्यक्रममा कैलारी गाउँपालिकाका प्रशासकीय अधिकृत धर्मानन्द भट्ट सुआहारा कार्यक्रमका पोषण अधिकृत रक्षा गिरी, हसुलिया स्वास्थ्य चौकी इन्चार्ज रितेश जयसवाल, दिपेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक श्याम मल्ल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महिला स्वासथ्य स्वयंसेविका, आमा समूह, विद्यार्थी, साल्ट ट्रेडिङ कर्पोेशनका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार