सभामुुख निर्वाचनको कार्यतालिका प्रकाशित
धनगढी । प्रदेश नम्बर ७ मा प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका सोमबार प्रकाशन गरिएको छ ।
आइतबार धनगढीस्थित प्रदेश सभा (संसद) भवनमा भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते दिउँसो १ बजे प्रदेशसभा सभामुखको निर्वाचन हुँदै छ ।
प्रदेशसभा सचिवालयलले सोमबार प्रकाशित गरेको कार्यतालिकाअनुसार माघ २७ गते दिनको २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन साँझ ५:३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
त्यस्तै, माघ २८ गते दिनको १० देखि १२ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दावी विरोधको छानबिन हुनेछ ।
त्यस्तै, माघ २८ गते २ बजेपछि दावी विरोधको छानबिनपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ५ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।
७ नम्बर प्रदेशका संसद सचिवालयका सचिव मुरारी महतका अनुसार माघ २९ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गरिएको जानकारी दिए ।
प्रदेश नम्बर ७ मा मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेकाले सभामुखमा एमालेको तर्फबाट उम्मेदवारी दिने तयारी भइरहेको छ ।
एमालेको तर्फबाट कञ्चनपुरबाट निर्वाचित तारा लामा तामाङ, बझाङका अर्जुन थापा, डडेल्धुराका र डोटीका पूर्णा जोशीको नाम चर्चामा छ ।
वाम गठबन्धनको बहुमत रहेको ७ नम्बर प्रदेशमा प्रदेशसभाको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटीले डोटीका प्रदेश सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।
५३ सांसद रहेको प्रदेश नम्बर ७ मा.एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद रहेका छन् ।