एमालेभित्र संसदीय दलको नेताका लागि तीब्र प्रतिस्पर्धा
धनगढी । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकमा प्रदेश संसदीय दलका नेता चयनमा सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट टुंगो लगाउने निर्णय गरेसँगै नेता बन्ने प्रतिस्पर्धा तीब्र बनेको छ ।
७ नम्वर प्रदेश संसदको पहिलो बैठक आगामी २१ गते तय गरिएको छ । एमाले स्थायी समितिले माघ २४ को राष्ट्रिय सभा सदस्य निर्वाचन पनि प्रदेश संसदीय दल नेता छान्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । स्थायी समितिले प्रदेश संसदीय दलको नेता चयनमा निर्वाचन प्रक्रिया पनि अवलम्बन गर्न सकिने निर्णय गरेपछि ७ नम्बर प्रदेशमा एमालेभित्र प्रदेश सभा सदस्यहरूबीच प्रतिस्पर्धा बढेको छ ।
प्रदेश संसदीय दलको नेताका लागि वैकल्पिक केन्द्रीय सदस्य तथा बाजुराका प्रदेश सांसद प्रकाशबहादुर शाह, कैलालीका अध्यक्ष दीर्घ सोडारी र कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङको दावेदारी बलियो रूपमा प्रस्तुत भएको छ । दलको नेताका लागि डडेल्धुराका प्रदेश सांसद पठानसिंह बोहरा र बझाङका सांसद अर्जुन थापाको समेत दाबी रहेको एमाले स्रोतले जनाएको छ ।
एमाले कैलालीका अध्यक्ष प्रदेश सांसद सोडारीले आफूले संसदीय दलको नेताका लागि चाहना व्यक्त गरेको बताए । उनले दलका सबै सांसदहरूको सल्लाहबाट नै आफू अघि बढ्ने प्रतिक्रिया व्यक्त गरे ।
एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेश सांसद तारा लामा तामाङले पनि संसदीय दलको नेता बन्नका लागि विभिन्न तहमा सरसल्लाहमा जुटेको बताए । एमालेका वैकल्पिक केन्द्रीय सदस्य शाहले भने दलको नेताबारे कुनै प्रतिक्रिया दिन मानेनन् ।
५३ सदस्यीय सात नम्बरको प्रदेश सभामा एमालेका २५ जना सांसद रहेका छन् ।
एमालेमा प्रदेश नम्बर १, ३ र ४ मा दलको नेता नै मुख्यमन्त्री हुने भएपछि दलको नेता हुन झन् तछाडमछाड हुने भएको छ ।
प्रदेश १ मा एमाले सचिव भीम आचार्य र पोलिटव्यूरो सदस्य शेरधन राई, ३ नम्बरमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे तथा ४ नम्बर प्रदेशमा संसदीय दलको नेता बन्नका लागि एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । आचार्य, शाक्य र किरण ती प्रदेशका प्रदेश संयोजक समेत हुन् ।
एमाले र माओवादी केन्द्रबीच प्रदेश नम्बर ७ र ६ मा माओवादीबाट मुख्यमन्त्री बन्ने सहमति भइरहेको छ ।
माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने सहमति भइसकेको ६ नम्बर प्रदेशमा पनि एमालेभित्र संसदीय दलको नेता बन्नका लागि पोलिटव्यूरो सदस्यद्वय यामलाल कँडेल र प्रकाश ज्वालाबीच चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पोलितब्युरो सदस्य कँडेल ६ नम्बर प्रदेशका एमालेका सहसंयोजक हुन् । प्रदेश नम्बर ५ मा भने स्थायी समिति सदस्य शंकर पोखरेल संसदीय दलको नेता चयन भइसकेका छन् । पोखरेल माओवादीको सर्मथनमा मुख्यमन्त्री बन्ने निश्चित भइसकेको छ ।