२८ पुष २०८१, आईतवार

विज्ञहरू भन्छन्– व्यवहारिक शिक्षा भएन



धनगढी । पछिल्लो समय व्यवहारिक शिक्षाको सुधारमा शैक्षिक संस्थाहरू लाग्नुपर्ने वहस उठिरहेका छन् । नेपालमा शिक्षालाई मौलिक हकभित्र राखे पनि व्यवहारिक र जीवनोपयोगी नभएको उनीहरूको गुनासो छ । नागरिकहरूलाई शिक्षा प्रति आकर्षित गर्दै सजिलै जीवन जिउन सक्ने सीपयुक्त शिक्षा आजको आवश्यकता भएकोमा उनीहरूले जोड दिइरहेका छन् ।
युग अनुसारको समय सापेक्ष र व्यवहारिक शिक्षा नहुँदा देशमा दक्ष जनशक्तिको अभाव रहेकोले अभावको पूर्तिको लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने शिक्षाविद् एवं प्राध्यापक डा. हेमराज पन्तले बताए । उनले बेरोजगारी हटाउँदै स्वदेशमै आत्मनिर्भरताको खोजी गर्न प्राविधिक शिक्षा आवश्यक रहेको बताए । उनले समग्र क्षेत्रको विकासका लागि शिक्षाको भूमिका पहिलो स्थानमा हुने भएकाले शिक्षा पनि व्यवहारीक र गुणस्तरीय हुनुपर्नेमा जोड दिए ।
‘गाउँ–गाउँमा विद्यालय पुगेको छ, शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अहिले खासै छैन्’ शिक्षाविद् डा. पन्तले भने, ‘तर, हाम्रोमा गरी खाने शिक्षा भएन् ।’ शिक्षाविद् डा. पन्तले विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताए । यसका लागि प्रत्येक विद्यालयले विद्यार्थीलाई आत्मनिर्भर बनाउने शिक्षा प्रदान गर्नुपर्नेमा उनको जोड छ ।
‘हरेक मानिसमा विभिन्न प्रकारका क्षमता हुन्छन्’ उनले भने ‘तर, ती क्षमता पहिचान गरी सोहीअनुसार शिक्षा प्रदान गर्नु आजको आवश्यकता हो ।’ नेपालमा विभिन्न सम्भावना छन्, तर प्रयोगात्मक शिक्षा नहुँदा उपयोग हुन नपाएको उनले बताए । ‘सामान्य कुरा गरौं न नेपाल कृषिको सम्भावना बोकेको देश हो कहाँ छ कृषिका पाठ्यक्रमहरू ?’ उनले भने, ‘हामी विश्वले बनाएका पुस्तकहरूलाई विद्यार्थीलाई अध्यापन गराइरहेका छौं, जुन सैद्धान्तिकमा आधारित छन्, व्यवहारिकमा होइन् ।’
नाष्ट कलेजका क्याम्पस प्रमुख शिवहरि मुडभरीले पनि विद्यालयले व्यवहारिक र रोजगार सिर्जना गर्ने शिक्षामा जोड दिनुपर्ने बताउँछन् । ‘हामी विद्यार्थीले सर्टिफिकेट पाएर विद्यालयबाट बाहिर गएपछि उसको ध्यान गर्दैनौं’ उनले भने, ‘विद्यार्थीलाई सर्टिफिकेट दिलाउने विद्यालयको कर्तव्य होइन्, उसलाई आत्मनिर्भर बनाउनुपर्ने पनि हाम्रो कर्तव्य हो ।’ उनले विद्यार्थीलाई आत्मनिर्भर बनाउन सीपयुक्त र व्यवहारिक शिक्षा विद्यालयले प्रदान गर्नुपर्ने बताए ।
‘मानिसको बोली, व्यवहार कस्तो छ ? त्यो पनि मूल्यांकन हुन्छ’ क्याम्पस प्रमुख मुडभरीले भने, ‘शैक्षिक प्रमाणपत्र पाउने वित्तिकै उसको बोली र व्यवहार राम्रो छ भन्न मिल्दैन् ।’
ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले शिक्षा क्षेत्रको उपलब्धी सर्टिफिकेट प्राप्त मात्र नभई त्यसको प्रतिफल ल्याई सहज जीवनयापन गर्न सक्ने हुनुपर्नेमा जोड दिए । देश संघीयतामा गएसँगै अब शिक्षालाई व्यवहारिक बनाउनुपर्ने र आधुनिकीकरणतर्फ लग्नुपर्ने र व्यवहारिक शिक्षा आजको आवश्यकता भएको समेत क्याम्पस प्रमुख भट्टले बताए ।
त्यस्तै, विद्यार्थीहरूलाई व्यवहारिक बनाउन दुर्घटना न्यूनीकरण, भ्रष्टाचार लगायतका विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
सुदूरपश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले राज्यले पाठ्यक्रममै सवारी दुर्घटनाबाट बच्ने उपायहरू, कारण लगायतहरू समावेश गर्नुपर्ने बताए । सदाचारका लागि सामाजिक पहलका उपाध्यक्ष बासुदेव जोशीले भ्रष्टाचार बच्चादेखिनै शुरु हुने भएकाले न्यूनीकरणका लागि पाठ्यक्रममै समावेश गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार