अवैध मदिरा नियन्त्रण लागि अभियान
बौनिया । ईलाका प्रहरी कार्यालय बौनियाले कैलालीको बर्दगोरीया गाउपालिकामा अवैध घरेलु मदिरा नियन्त्रण गर्न विशेष अभियान शुरु गरेको छ ।
ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी नायव निरीक्षक रामचन्द्र पन्तको नेतृत्वमा रहेको प्रहरी टोलीले शुक्रबार चार सय लिटर अवैध घरेलु मदिरा, त्यसमा प्रयोग हुने कच्चा पदार्थ र मदिरा बनाउने भाँडा बरामद गरेको जनाएको छ ।
प्रहरी निरीक्षक पन्तले घरेलु मदिरा तयार गर्दा कुहिएको अन्न, युरियामल लगायत अखाद्य बस्तु प्रयोग हुने भएकाले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउनेप्रति समाजका सबै पक्ष सजग भइदिन आग्रह गरे ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को जागृती टोल, साझा चोक, बौनियाँ बजार, निमुवाबोझी लगायतका स्थानमा एक सातादेखि अभियान सञ्चालन गरेर १५ हजार लिटर बढी घरेलु मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।