२९ पुष २०८१, सोमबार

बाह्रराशी दर्शन मेला समापन



धनगढी । कैलालीको गोदावरी धाममा सञ्चालन भएको बाह्रराशी दर्शन मकर मेला २०७४ शनिबार समापन भएको छ । सो मकर मेला माघ १ गतेबाट शुरु भएको थियो ।
शुक्रबार एक विशेष समारोहमा प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले मेलाको समापन गरे ।
सो अवसरमा प्रदेश प्रमुख मल्लले प्रदेश नम्बर ७ विकासका दृष्टिकोणले धेरै सम्भावना रहेको चर्चा गरे । उनले प्रदेशको आर्थिक समृद्धिका लागि आफू हरसम्भव भूमिका निर्वाह गर्न तत्पर रहेको बताए ।
सांसद लेखराज भट्टले गोदावरी धामको विकासका लागि वृहत गुरुयोजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । उनले गोदावरी धाममा ७ नम्बर प्रदेशका सबै धार्मिक आस्थाको केन्द्र बनाएर सो अनुरुपका धार्मिक संरचनाहरु बनाएर अघि बढ्नु पर्ने बताए ।
कार्यक्रम मेला संयोजक पदमराज जोशीको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा प्रदेश सांसदहरू डिल्लीराज पन्त, कृष्णराज सुवेदी र टेकबहादुर रैका, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।
१२ दिने मकर मेलामा चार लाख भक्तजनहरूले गोदावरीमा स्नान एवं अवलोकन गरेको मेला आयोजक समितिले जनाएको छ ।
मेलामा नवग्रह शान्ति, महाअनुष्ठान, विशेष पुजा तथा पाठपरायण, लक्ष्य हवन, पितृकर्म, आरति तथा भजनकिर्तन गरिएको थियो । बाह्रराशी दर्शन मकर मेलाको पुस ३० गते एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
दुईवर्ष अघि महाकुम्भ गरेर सुरु गरिएको धाममा हरेक १२ वर्षमा महाकुम्भ हुने र हरेक ६ वर्षमा अर्धकुम्भ आयोजना हुने संयोजक जोशीले बताए । कार्यक्रममा मकर मेलालाई सफल बनाउन सहयोग पुऱ्याउने विभिन्न संघ संस्था, व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार