नमुना प्राविधिक माविको वार्षिकोत्सव
धनगढी । धनगढी नमुना प्राविधिक माध्यामिक विद्यालयले ७० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
वार्षिकोत्सवको एक समारोहबीच धनगढीका नगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालमुनी रानाको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा नगर प्रमुख वडले विद्यालयले शैक्षिक क्षेत्रको सुधारका लागि थुप्रै प्रयास गरेको चर्चा गरे । उनले देश संघीय संरचनामा गइसकेकोले अवसरसँगै चुनौति पनि थपिएको बताए । ‘विगतमा केन्द्रले नै सरकारी विद्यालयमा रकम विनियोजन गर्ने गरेको थियो, अव संघीय संरचनाअनुसार त्यो अधिकार स्थानीय तहमा आइसकेको छ’ उनले भने– ‘यसले अवसरसँगै चुनौति थपिएको छ । उनले स्थानीय तहले आफनै स्रोतबाट विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेकाले स्रोत जुटाउने समस्या पनि सिर्जना भएको बताए ।
कार्यक्रममा सांसद मालामति रानाले विद्यालय क्षेत्रभित्र राजनीतिको अन्त्य हुनुपर्ने बताए । ‘विद्यालयमा अध्यापन गराउने शिक्षकहरूनै राजनीतिमा लागेका छन’ उनले भनिन्– यसले विद्यार्थीहरूलाई कुन बाटो डोहोर्याउन्छ तपाई शिक्षकहरूनै सोच्न सक्नु हुन्छ ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले विद्यालयलाई आवश्यक स्रोत साधनको कमि हुन नदिन उपमहानगरपालिकाले पहल गर्ने बताइन् । उनले विद्यालयको नाममा जग्गा दर्ता गराउन पनि आफूले पहल गर्ने बताइन् ।
कार्यक्रममा एश्वर्य विद्या निकेतनका क्याम्पस प्रमुख धर्मदेव भट्ट, धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बराल, साहित्यकार रामलाल जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा विद्यालयका प्राध्यापक लक्ष्मणदत्त भट्टले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले नयाँ शैक्षिक सत्रदेखि कक्षा एक देखि तीनसम्म अंग्रेजी माध्यममा पठन पाठन, नयाँ प्रविधि (प्रोजेक्टर, ल्यापटप) प्रयोग गरी श्रवण तथा दृष्य माध्यमद्वारा कक्षा सञ्चालन गर्ने, सिटिईभिटको डिप्लोमा ईन कृषिको सम्बन्धन लिई सञ्चालन गर्ने, विज्ञान प्रयोगशालाको निर्माण गरी कक्षा ११ र १२ मा पठन–पाठन सञ्चालन गर्ने लगायतको प्रस्तावित कार्यक्रमहरूबारे जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक गणेश नेपालीले गरेका थिए ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरूलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको थियो । सम्मान हुनेमा मदन पुरस्कार विजेता तथा ऐना संग्रहका लेखक रामलाल जोशी, पूव अध्यक्ष धनीराम राना, पूर्व शिक्षक भीमलाल भण्डारी, मञ्जु उपाध्याय र विद्याथी ईश्वरीप्रसाद उपाध्याय रहेका छन् ।