प्रदेशको अस्थायी मुकामबारे आन्दोलन नगर्न आग्रह
धनगढी । वाणिज्य मन्त्री मीन विश्वकर्माले प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर आन्दोलन नगर्न आग्रह गरेका छन् ।
उनले प्रदेश सभाको बैठकले नै प्रदेशको राजधानी र नामको अन्तिम टुंगो लगाउने भएकाले अस्थायी मुकामबारे आन्दोलन गर्नु उचित नहुने बताए ।
‘संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन गर्नैपर्ने हुन्छ’ शुक्रबार प्रेस युनियनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले भने– प्रदेश सभा सदस्यको सपथ ग्रहण, प्रदेश सभा बैठक लगायतका प्रक्रिया अघि बढाउन सरकारले अहिले अस्थायी रुपमा मात्र मुकाम तोकेको हो ।
उनले प्रदेश सभालाई मात्रै विधिसम्मत ढंगले आफ्नो राजधानी तोक्ने अधिकार रहेकोले अहिलेको अस्थायी मुकाम (राजधानी) का विषयमा अल्झिएर आन्दोलन गर्नु उपयुक्त नभएको बताए ।
उनले सबै शासकीय अधिकार स्थानीय तहमा गइसकेकोले प्रदेश राजधानीले मात्र विकास हुन्छ भन्ने खालको मानसिकता नलिन पनि आग्रह गरे । ‘राजधानी हुँदैमा विकास हुन्छ भन्ने मनसाय राख्नु हुँदैन’ मन्त्री विश्वकर्माले भने– देश संघीय संरचनामा गईसकेको छ । सम्पूर्ण अधिकार स्थानीय तहमा पुगिसकेका छन् । त्यसैले राजधानी जहाँ भए पनि स्थानीयलाई खासै असर पर्दैन ।
सञ्चारकर्मीको एक जिज्ञासामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री विश्वकर्माले काँग्रेसले पाँच वर्षका लागि जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘जनताले हामीलाई प्रतिपक्षमा बस् भनेका छन्’ उनले भने– हामी सरकारमा जाँदैनौ ।
उनले नेपाली काँग्रेस नेतृत्वको सरकारका कारण नै प्रदेश नम्बर ७ (सुदूरपश्चिम) मा विकास ठूला विकास आयोजना सञ्चालन हुनसकेका बताए । उनले ७ नम्बर प्रदेशको विकासका लागि महाकालीको डिपिआर, दोधोराचादनीमा सुख्खा बन्दरगाह, गौरिफण्टा नाकाको स्तरोन्नती, सुदूरपश्चिम पोलिटेक्नीकल ईन्ष्टिच्युट लगायतका कार्य अघि बढेको बताए ।