मोहना–अत्तरिया छ लेन सडक आयोजना : सडक चौडाई यथावत राख्ने मागमा बन्द
धनगढी । मोहना–अत्तरिया छ लेन सडकको चौडाई यथावत राख्ने माग गर्दै शुक्रबार धनगढी बन्द भएको छ । मोहना–अत्तरिया छ लेन सडकको सिमानामा रहेका भौतिक संरचना हटाउने प्रक्रिया अघि बढाएपछि केही व्यक्तिले केही दिनअघि सडकको चौडाई घटाउने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
छ लेन सडकको चौडाई घटाउने चलखेल भएको भन्दै शुक्रबार युवा दबाव समुहको आह्वानमा धनगढी बन्द भएको थियो ।
बिहानदेखि नै धनगढीमा बजार बन्द भएको थियो । सडकमा हलुका सवारी साधन मात्रै चलेका थिए । विद्यालयहरू पनि बन्द भएका थिए । प्रहरीले बन्दको आह्वान गरिरहेका मध्ये वडाध्यक्ष बलबहादुर ऐर सहित १३ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरूलाई केही समयपछि रिहा गरिएको थियो ।
युवाहरूले प्रदर्शनकारीलाई पक्राउ गरिएकोमा प्रहरी विरुद्ध नाराबाजी पनि गरेका थिए । mाउ गरेको भन्दै बिरोधका लागि ठुलो संख्यामा स्थानिय वासिन्दा सडकमा उत्रिएका थिए ।
प्रदर्शनपछि धनगढी चौराहमा आयोजित कोणसभामा नेपाली काँग्रेसका जिल्ला सचिव पूर्णबहादुर कुँवर, नेकपा एमालेका जिल्ला सचिव रणबहादुर चन्द, माओवादी केन्द्रका नेता रमेश धामी, विवेकशील साझा पार्टीका प्रदेश संयोजक गोपाल हमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दृष्टीबिहिन अर्जुन रावलको नेतृत्वमा रहेको युवा दबाव समुहले आव्हान गरेको बन्दको स्थानीय व्यापारी, सर्वसाधारण, विद्यालय सबैले समर्थन गरेका थिए ।
मोहना–अत्तरिया सडकको सिमानामा घर बनाएका १३ जना घरधनीले सडकको चौडाई घटाउनु पर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए ।
सर्वोच्च अदालतमा रिट परेपछि त्यसको फैसला नहुन्जेलसम्मका लागि संरचना नभत्काउन अन्तरिम आदेश भएकाले अहिले सो सडकको निर्माण काम रोकिएको छ । निर्माण कार्य रोकिएपछि आन्दोलनमा उत्रिएका धनगढीबासीले भने सडकको चौडाई घटाउने चलखेल विरुद्ध आन्दोलन थप चर्काउने जनाएका छन् ।