६ कार्तिक २०८१, मंगलवार

किराना व्यावसायी संघको साधारण सभा



धनगढी । किराना व्यावसायी संघ, कैलालीको दोसो साधारण सभा शनिबार धनगढी भएको छ । साधारण सभाको प्रदेश सभा सदस्य डिल्लीराज पन्तले एक समारोहबीच उद्घाटन गरे ।
सो अवसरमा प्रदेश सांसद पन्तले किराना व्यावसायीहरूलाई गुणस्तरीय सामानमा ध्यान दिन आग्रह गरे । उनले सस्तो मूल्यका नाममा उपभोक्तालाई गुणस्तरहीन सामान बिक्री गर्नु अपराध हुने बताए ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले किराना व्यावसायीहरूलाई मुस्कान सहितको सेवा दिन आग्रह गरे ।
आन्तरिक राजश्व कार्यालय, धनगढीका कर अधिकृत कृष्ण बोहराले राज्यले लागू गरेको कानुनलाई इमानदारिताका साथ पालना गर्न व्यावसायीहरूलाई अनुरोध गरे । उनले भने– ‘राज्यले कानुनमा कसैलाई छुट दिएको छैन, त्यसैले प्रत्येक व्यावसायीले करको दायरामा आउन आवश्यक छ ।’
नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले किराना व्यावसायको समाजमा ठूलो भूमिका हुँदाहँुदै पनि सक्रियता नभएका कारण पछाडि परेको बताए । ‘हरेक दशैंतिहारमा म्याद नाघेका मालसामान बेच्ने गरेको समाचार सावर्जनिक हुन्छ’ उनले भने– तर यसलाई कसरी कम गर्ने भन्नेमा कहिल्यै पनि व्यावसायीले नसोचेको बताए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले किराना व्यावसायीबाट बढि गुनासो र समस्या आउने गरेको चर्चा गरे ।
कार्यक्रम किराना व्यवसायी संघका अध्यक्ष लक्ष्मणराज पन्तको अध्यक्षतामा भएको थियो ।
साधारण सभा उद्घाटन कार्यक्रममा विद्युतीय व्यावसायी संघ कैलालीका अध्यक्ष शिवकुमार फुलारा, मदिरा व्यावसायी संघ, कैलालीका अध्यक्ष डिल्लीराज अवस्थी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन किराना व्यवसायी संघका सल्लाहकार संयोजक नारायण लम्सालले गरेका थिए ।
व्यवसायी र खेलाडी सम्मानित
साधारण सभामा दुई जना व्यावसायी र एक जना खेलाडीलाई सम्मान गरियो । व्यावसायी डबलबहादुर चौधरी र देवराज पाण्डेय तथा उसु खेलाडी अलिसा खातीलाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गरिएको थियो ।
विभिन्न संस्थालाई डस्टवीन सहयोग
त्यस्तै, किराना व्यवसायी संघ कैलालीले विभिन्न कार्यालयलाई डस्टबीन सहयोग गरेको छ । आन्तरिक राजस्व कार्यालय, सेती अञ्चल अस्पताल, नापतौल कार्यालय, सुदूरपश्चिम अपाङ्ग संघ कार्यालय अत्तरिया र क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई संघले डस्टबिन सहयोग गरेको जनाएको छ ।
संघका अध्यक्ष पन्तले हरेक कार्यालयलाई दुई वटाका दरले १० वटा डस्टवीन सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार