८ कार्तिक २०८१, बिहीबार

उसु प्रतियोगिताका लागि खेलाडी छनौट



धनगढी । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्र्तगत उसु प्रतियोगिताका लागि ७ नम्बर प्रदेश अर्थात सुदूरपश्चिमबाट खेलाडीहरु छनौट गरिएका छन् ।
सुदूरपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति धनगढी, जिल्ला उसु संघ कैलालीको संयोजकत्वमा शुक्रबार सञ्चालित १३ औं सुदूरपश्चिमाञ्चल क्षेत्रिय उसु छनौट प्रतियोगिताको आयोजना गरि यस क्षेत्रबाट खेलाडीहरुको छनौट गरिएको हो ।
प्रतियोगिताको कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद नारदमुनि रानाले उद्घाटन गरेका थिए ।
‘विश्वका सबै जसो राष्ट्रमा खेल खेलप्रति बढी रुची राख्छन्, तर हाम्रो राष्ट्रमा त्यो देखिदैन्’ सांसद रानाले भने ‘किनकी विश्वमा खेल र खेलाडीलाई सम्मानजनक रुपमा हेरिएको छ, त्यहाँ खेलाडीलाई कुनै समस्या छैन् ।’
‘मैले खेल क्षेत्रका समस्याहरुलाई राम्ररी बुझेको छु, अहिले कतिपय खेलाडीहरु खेल क्षेत्रमा किन लागे भनेर आफुलाई धिक्कार गर्छन्’ सांसद रानाले भने ‘अबको पाँच वर्षभित्र सबै व्यक्तिलाई खेलतर्फ आकर्षण गराउने योजनाको निर्माण गर्छु ।’ उनले नेपालमा खेल, खेलाडी, संघ र कर्मचारी व्यवस्थापनमा थुप्रै समस्या रहेको बताए ।
उनले खेलकुदबाटै राष्ट्रलाई विश्वमा चिनाउन सकिने भएकाले खेलाडीको उत्पादन, खेल क्षेत्रको समस्या समाधान लगायतमा विशेष योजना बन्न जरुरी रहेको बताए । उनले अबको पाँच वर्षभित्र नेपालमा खेललाई सम्मानित पेशाका रुपमा स्थापित गराउने बताए ।
कार्यक्रममा शेअ उसु क्वान मनेहराका अध्यक्ष नारायण लम्सालले खेलाडीहरुले चाहिने सामाग्री नपाउनु, खेलाडीहरुलाई नि:शुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था नहुनु, खेलबाटै जिविकोपार्जन गर्न गाह्रो हुन लगायतका कारणले खेलप्रति आम मानिसले चासो नदेखाउने गरेको बताए ।
कार्यक्रममा जिल्ला उसु संघका अध्यक्ष विष्णु चन्दको अध्यक्षतामा भएको थियो । संघका सदस्य गोपाल पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन उसु सहायक प्रशिक्षक रतन खातीले गरेका थिए । सो अवसरमा जिल्ला उसु संघ र शेअ उसु क्वान मनेहराले निर्वाचित सांसद नारदमुनि रानालाई अभिनन्दन पनि गरेका थिए ।
शुक्रबार भएको छनौट प्रतियोगितामा उसु प्रतियोगितामा १३ स्वर्ण, एक रजत र तीन कास्य सहित १७ पदकका साथ कैलाली जिल्ला प्रथम, तीन स्वर्ण, चार रजत सहित सात पदकबाट कञ्चनपुर दोस्रो पद प्राप्त गरेको छ ।
सान्सौमा पुरुषतर्फको ५२ केजी तौलतर्फमा शिवराज सुनारी मगर, ५६ केजीमा जीवन रोक्का मगर, ६० केजी बालकृष्ण चौधरी, ७० केजीतर्फ फिलिप चौधरीले स्वर्ण पदक प्राप्त गरेका थिए ।
यस्तै महिलातर्फ ४८ केजीमा गौरी घर्तीमगर, ५२ केजीतर्फ रिता ठकुल्ला, ५६ केजीतर्फ आरती चौधरीले स्वर्ण पदक प्राप्त गरेका थिए । महिला छाङछवानतर्फ अलिशा खाती, एलिशा खाती र सम्झना चौधरी पदक विजेता भएका थिए भने पुरुषतर्फ रविन चौधरी, बालचन राना र हेमन्त धामी भएका थिए ।
यस्तै, माघ ५ देखि ८ गते ईटहरीमा हुन गईरहेको राखेप राष्ट्रिय च्याम्पियनसिपका लागि यस क्षेत्रको कैलाली, कञ्चनपुर र बाजुराबाट गरि २६ जना खेलाडीहरु छनौट भएको उसु प्राविधिक कमिटिका संयोजक राजीव गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार