आजदेखि भादा महोत्सव
धनगढी । कैलालीको धनगढीमा आज (बुधबार) देखि थारु होमस्टे गाउँ भादा महोत्सव–२०७४ सञ्चालन हुँदैछ ।
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिले जानकारी दिएको छ ।
‘संरक्षण सम्वद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेषभुषा राखी हमार पहिचान’ भन्ने नाराका साथ हुने महोत्सवको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
भादा होमस्टेले २०६८ सालदेखि निरन्तर भादा महोत्सव सञ्चालन गर्दै आएको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मीनारायण चौधरीले जानकारी दिए ।
उनले विगतमा भादा महोत्सव जनवरी १ देखि ५ तारिखसम्म गर्दै आएकोमा यसपालि विविध कारणले महोत्सवको सातौं संस्करण जनवरी ३ देखि ७ तारिखसम्म सञ्चालन गरिएको बताए ।
उनले थारु गाउँ भादामा बाह्रय पर्यटक भित्रियाउनलाई धेरै चुनौती भएको बताए । अध्यक्ष चौधरीले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमान स्थल र गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गर्न सकिएमा बाह्य पर्यटक भित्राउन सघाउ पुग्ने बताए ।
उनले महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती, थारु समुदायको सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की, मुङग्रहुवा, गुरुवा र आधुनिक नृत्य तथा सजना, मैना, धमार, बरकीमार, लग्नी, कठमैया, विरहनी गीतको प्रस्तुती र रानाथारु तथा कठरिया थारुको मौलिक नृत्य समेत प्रस्तुत हुने बताए ।
त्यसैगरी हास्यव्यंग्य कलाकारहरूको प्रस्तुतीसंगै विशिष्ठ व्यक्तिहरूलाई सम्मान तथा स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने, उत्कृष्ट स्वागतद्वार तथा उत्कृष्ट स्टललाई पुरस्कृत गरिने, थारु खानपानको परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खर्मा, पनझझरा, कचरीक, बरिया, घोंघी, गेङटा, सुटही, मुसक पकुवा, महुावक दारु, चौरक दारु, निधार लगायत विभिन्न खानाका परिकार महोत्सवको आकर्षण रहने बताए ।
महोत्सवमा तिरबार, मुर्गा निसान, साइकल स्लो, भलादमी दौड, भलिवल समेत रहने संयोजक चौधरीले जानकारी दिए । महोत्सव २३ गतेसम्म सञ्चालन हुने छ ।