६ कार्तिक २०८१, मंगलवार

घोडाघोडीमा अतिक्रमण चर्को बन्दै



सुखड । कैलालीको घोडाघोडी नगरपालिका भित्रका सार्वजनिक खोलानाला, तथा सार्वजनिक जग्गा अतिक्रमण पछिल्ला दिनमा चर्को हुँदै गएको छ । नगरपालिकाको वडा नम्बर ६, वछुरिया लगायतका ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण निकै बढेको स्थानीयले बताएका छन् ।
सुखड बजारको छेउमा रहेको नाला अतिक्रमण गरेर प्रतिकठ्ठा २१ लाखदेखि ५५ लाख रुपैयाँ मूल्यमा बिक्री भइरहेको अजस्था छ । त्यस्तै, खोलानालाको किनारमा पर्खाल निर्माण गर्ने, नाला अवरुद्ध गर्ने तथा पक्की घर निर्माण समेत हुने गरेका छन् ।
नगरभित्रका खोलानालाहरू अतिक्रमण गरेर सडक निर्माण समेत हुने गरेको छ । खोलानाला अतिक्रमणका कारण डुबानको समस्या बृद्धि भएको छ । स्थानीयले अतिक्रमण नियन्त्रण गर्न सरोकारवाला निकायसँग बारम्बार आग्रह गर्दा कुनै सुनुवाई नभएको गुनासो गरेका छन् । पानी बग्ने नाला अतिक्रमण हुँदा बर्सेनि डुबानको समस्या भोग्नु परेको भन्दै स्थानीय बासिन्दा तथा व्यावसायीहरूले घोडाघोडी नगरपालिकासँग माग गरेका छन् ।
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले नगरपालिका क्षेत्रमा रहेको सबै जग्गाको लगत लिएर अतिक्रमित जग्गा व्यवस्थित गर्ने बताए । ‘कुन स्थानमा कस्तो प्रकृतिको जग्गा रहेको छ र के–कति जग्गा अतिक्रमण भएको छ भन्ने तथ्यांक लिएर अतिक्रमण हटाउने तथा व्यवस्थित पार्ने काम शुरु भएको छ’ नगर प्रमुख चौधरीले भने– ‘केही दिनभित्रै नगरपालिका क्षेत्रमा रहेका जग्गाको लगत दिने काम अघि बढाइने ।’

पुस १२ गते बुधबार (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार