६ कार्तिक २०८१, मंगलवार

गोदावरी नगरपालिका खुला दिसामुक्त घोषणा हुँदै



धनगढी । कैलालीको गोदावरी नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुने भएको छ । शुक्रबार जिल्ला खानेपानी तथा सरसफाई, स्वच्छता समन्वय समितिको अनुगमनका क्रममा गोदावरी नगरपालिकाका सबै घरधुरीमा शौचालय निर्माण भएको पाइएकोले आगामी ११ गते खुला दिसामुक्त घोषणा गरिने जनाइएको छ ।
१९ हजार बढी घरधुरी रहेको सो नगरपालिकामा सबै धरधुरीमा शौचालय निर्माण भएको पाइएको थियो । पटक–पटक खुल्ला दिसामुक्त घोषणा गर्न लक्ष्य प्राप्त नगरेको गोदावरी नगरपालिकाले अन्तिम चरणमा लक्ष्य प्राप्त गरेको छ ।
गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्ने सम्पूर्ण तयारी पुरा भइसकेको बताइन् । उनले खुल्ला दिसामुक्त घोषणा गर्नु पर्व जस्तै रहेकाले भव्यताका साथ कार्यक्रम गरिने बताइन् । खुला दिसामुक्त घोषणा गर्न चुनौतिका रूपमा रहेको गोदावरी .नगरपालिकामा यो घोषणाको अन्तिम तयारीमा पुग्दा खुशी लागेको उनले बताइन् ।
नगरपालिकामा मुक्त कमैया, वादी समुदाय लगायत अति विपन्न बस्तीहरूमा शौचालय बनाउन निकै चुनौति भए पनि लगातारका प्रयास कारण सबै घरधुरीमा शौचालय निर्माण गरिएको उपप्रमुख कडायतले बताइन् ।

७ नम्बर प्रदेशको कैलाली, कञ्चनपुर र दार्चुला अझै खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी रहेको छ । 

यससँगै पुस १० गते धनगढी उपमहानगरपालिकालाई पनि खुला दिसामुक्त घोषणा गरिदै छ । बिहीबार समितिले धनगढीमा अनुगमन गर्दा सबै घरधुरीमा शौचालय निर्माण गरेको पाएको थियो ।
कैलालीको जानकी गाउँपालिकालाई मंसिर ९ गते र जोशीपुर गाउँपालिकालाई १४ गते खुल्ला दिसामुक्त घोषणा गरिँदै छ ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक पुष्पराज उप्रेतीले विगतमा झै अहिले गाउँ शहरमा शौचालयको प्रयोग भइरहेको पाइएको बताए । ‘पहिले पहिले घरमा शौचालय बनाउन कसैले पनि मान्दैन्थे’ उनले भने– ‘अहिले शौचालय आफ्नो घरमा नभए पनि छिमेकीको शौचालयको प्रयोग गरिरहेको पाइएको छ ।
खुल्ला दिसामुक्तको पटक–पटक मिति सार्दै आएको कैलाली जिल्ला घोषणाको अन्तिम तयारीमा रहेको छ । जिल्लाको सबै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका अन्तिम चरणमा रहेपनि लम्की चुहा नगरपालिकाले घोषणाको मिति तय गर्न सकेको छैन । सो नगरपालिकाले भोली (आइतबार) को बैठकबाट घोषणाको मिति तय गर्ने भनि जानकारी दिएको प्राविधिक उप्रेतीले बताए ।
यसअघि कैलालीका १३ वटै स्थानीय तहका जनप्रतिनिधिहरूले जिल्लालाई मंसिर महिनाको पहिलो साताभित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे पनि सो कार्य हुन सकेन ।
सरसफाई रणनीति–२०६८ ले कैलाली जिल्लालाई सन् २०१६ भित्रै खुला दिसामुक्त गर्ने लक्ष्य लिए पनि असफल भएपछि स्थानीय जनप्रतिनिधिहरूले मंसिर पहिलो साताभित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कैलालीमा एक लाख ५२ हजार चार सय ९४ घरधुरी रहेकोका छन् । जिल्लामा आठ लाख ४४ हजार चार सय ३३ जनसंख्या रहेकोमा आठ लाख २६ हजार नौ सय ५१ (९७.९३ प्रतिशत) खानेपानीबाट लाभन्वित रहेको भएपनि सुरक्षित तथा व्यवस्थित खानेपानी सुविधा भएका जनसंख्या ६० प्रतिशत मात्र रहेका छन् ।
सबै घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउन नसकिनुमा खानेपानीको आयोजनाको नाममा न्यून बजेट विनियोजन हुनु प्रमुख समस्या रहेको छ ।
७ नम्बर प्रदेशको कैलाली, कञ्चनपुर र दार्चुला अझै खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी रहेको छ । कञ्चनपुर जिल्लालाई ७ गतेभित्रै खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिदै छ भने कैलाली जिल्लाले पनि यहि पुसको तेस्रो साताभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार