महाकाली नदीमा सशस्त्र प्रहरीका सहायक निरीक्षक बेपत्ता
महाकाली नदीमा नेपाल टेलिकमको चुँडिएको तार तान्नेक्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक बेपत्ता भएका छन् ।
शनिवार दिउँसो क्षतिग्रस्त दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रबाट सशस्त्र प्रहरीका सहायक निरीक्षक सन्दीप थारु महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झराली (कञ्चनपुर)का अनुसार, शनिवार दिउँसो टेलिकमको चुँडिएको तार तान्नेक्रममा रबर बोटमा सवार सात जनामध्ये सहायक निरीक्षक (असई) थारु चिप्लिएर नदिमा खखेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झलारीका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वनाथ जिसीका अनुसार, दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ टेलिकमको तार वारपार गर्ने क्रममा सशस्त्र बलको देवीस्थान गुल्ममा कार्यरत सहायक निरीक्षक थारु रबर बोटबाट खसेका थिए ।
एक साता अघि दोधारा चाँदनी झोलुंगे पुलको पिल्लर धस्एिर पुल भत्किँदा टेलिकमको तारमा पनि क्षति पुगेको थियो । सोही टेलिकमको नयाँ तार तान्ने क्रममा नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक थारुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–६ घर भएका सहायक निरीक्षक थारु चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत साता दिन पहिले मात्र दार्चुलाबाट कञ्चनपुर खटाइएका थिए ।




