२४ आश्विन २०८३, शनिबार

कम्युनिष्ट घटकलाई एकजुट हुन रावलको आह्वान



काठमाडौ/ नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय संयोजन समितिका सदस्य तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले मुलुकको स्वाधीनता, संस्कृति, भाषा र सार्वभौमसत्ताको रक्षाका लागि सम्पूर्ण कम्युनिष्ट घटक तथा देशभक्त शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।

अछाम जिल्ला सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एकता बैठक तथा दसैँ, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले विगतका त्याग र उपलब्धिलाई जोगाउन आपसी मतभेद त्यागेर अघि बढ्नुपर्ने बताए ।

डा. रावलले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई आपसी विभाजनका कारण गुम्न दिन नहुने उल्लेख गर्दै निराश भएर बस्नुभन्दा राष्ट्रको पक्षमा सक्रिय रहन सबैलाई आग्रह गरे ।

‘नेपालको आफ्नो संस्कृति, भाषा, स्वाधीनता र न्यायमा आधारित समाज निर्माणका लागि हिजोका दिनमा ठूलो त्याग र पसिना बगाइएको छ । यत्रा वर्षको मिहिनेत र उपलब्धिलाई पानीको फोकाजस्तै फुटेर जान दिनुहुँदैन,’ उनले भने ।

विगतमा अनेकौँ चुनौतीको सामना गर्दै अघि बढेको स्मरण गर्दै उनले पार्टीले कुनै जिम्मेवारी नदिए पनि देश र स्वाधीनताको पक्षमा आफ्नो आवाज निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गरे ।

कम्युनिष्ट आन्दोलनभित्रको गुटबन्दी र विभाजनप्रति चिन्ता व्यक्त गर्दै डा. रावलले हिजो एमाले, माओवादी वा अन्य घटकमा रहे पनि अहिले एउटै पार्टीमा आबद्ध भएपछि पुरानो पूर्वाग्रह त्याग्नुपर्ने बताए ।

‘यदि फेरि उही पुराना विभाजन, गुटबन्दी, पूर्वाग्रह र उही तरिकाले हेर्न थाल्यौँ भने त्यसले आन्दोलन र देश कसैलाई पनि फाइदा पुर्‍याउँदैन,’ उनले भने ।

उनले सामाजिक सञ्जालमा हुने प्रायोजित प्रचार तथा बाह्य प्रभावप्रति सचेत रहन र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न पनि आग्रह गरे


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार