२४ आश्विन २०८३, शनिबार

डा. ज्ञानेन्द्रप्रसाद जोशी फेरि पनि विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा : प्रायोगिक गणितमा ४२४ औं स्थान



धनगढी । कृत्रिम बुद्धिमत्ता (AI) विज्ञ डा. ज्ञानेन्द्रप्रसाद जोशी लगातार दोस्रो वर्ष पनि विश्वका शीर्ष २% वैज्ञानिकको प्रतिष्ठित सूचीमा परेका छन् । उनको नाम प्रायोगिक गणितज्ञको रूपमा विश्वकै ४२४ औं स्थानमा स्थानमा आएको छ ।

इन्टरनेट अफ थिङ्स (IoT), वायरलेस सेन्सर नेटवर्क र कृत्रिम बुद्धिमत्ता (AI) जस्ता क्षेत्रहरूमा विज्ञ रहेका डा. जोशीको नाम स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको उक्त सूचीमा यस वर्ष जस्तै गत वर्ष पनि आएको थियो । विश्वकै प्रायोगिक गणितज्ञहरूको सूचीमा ४२४ औं स्थानमा पर्नु भनेको विश्वभरका लाखौँ गणितज्ञ तथा अनुसन्धानकर्ताहरूमध्ये प्रायोगिक गणित विषयको अनुसन्धान, प्रभाव र प्राज्ञिक उत्कृष्टताका आधारमा एकदमै शीर्ष श्रेणीमा पर्नु हो ।

वार्षिक रूपमा अद्यावधिक हुने यो सूचीले वैज्ञानिकहरूको प्रकाशित कार्यहरूको उद्धरण (Citation) विश्लेषण गरी तिनको प्रभावलाई हेर्छ ।

गणतन्त्र कोरियामा काङवोन राष्ट्रिय विश्वविद्यालयमा एसोसिएट प्रोफेसर (टेन्योर ट्र्याक) को रूपमा कार्यरत डा. जोशी सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला दिपायल सिलगढी नगरपालिकाका स्थायी वासिन्दा हुन् ।

स्ट्यानफोर्ड युनिवर्सिटीका विशेषज्ञहरूद्वारा तयार पारिएको र एल्सेभियरले प्रकाशित गरेको यो शीर्ष २% वैज्ञानिकहरूको सूचीमा पर्नुले आफ्नो विशिष्ट वैज्ञानिक क्षेत्रभित्र उनको असाधारण प्रभावलाई जनाउँछ । अन्तर्राष्ट्रिय शैक्षिक र वैज्ञानिक जगतमा सुदूरपश्चिम र नेपालकै नाम उच्च पार्ने डा. जोशीको यो योगदान अत्यन्त प्रेरणादायी छ ।

विश्वका प्रमुख अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित र विश्वभरका वैज्ञानिकहरूद्वारा हजारौं पटक उद्धृत गरिएका उनका अनुसन्धानहरू यहाँ हेर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार