ओलीलाई नेताहरूको सन्तुलन मिलाउन आग्रह, एकता खण्डित हुने निर्णय नगर्न सुझाव
काठमाडौ/ नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र युवा पुस्तालाई प्राथमिकता दिन, छुटेका भूगोल र समुदायलाई समेट्न तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँ नेताबीच सन्तुलन मिलाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
पार्टीको जारी स्थायी कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनको विषयमा छलफल भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले पार्टी एकतालाई कमजोर बनाउने कुनै पनि निर्णय नगर्न सुझाव दिएका हुन् ।
उनले आसन्न निर्वाचनसहितका चुनौती सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त भएको उल्लेख गर्दै हतारमा गरिने निर्णयले पार्टीभित्र असन्तुष्टि बढाउन सक्ने चेतावनी दिएका छन् ।
युवा र छुटेका समुदायलाई प्राथमिकता दिन आग्रह
भट्टराईले बाँकी केन्द्रीय सदस्य मनोनयन गर्दा ४० वर्षमुनिका युवालाई विशेष स्थान दिनुपर्नेमा जोड दिएका छन् । विगतमा छुटेका भूगोल र समुदायलाई समेट्दै पार्टीभित्रको आन्तरिक सन्तुलन कायम हुने गरी मनोनयन गर्नुपर्ने उनको सुझाव छ ।
त्यस्तै, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना तथा नयाँ नेताबीच सन्तुलन मिलाउनुपर्ने उनको भनाइ छ । पार्टीका विभिन्न तहमा नयाँ पुस्ताको सहभागिता बढाउँदै अनुभवी नेताहरूको भूमिकालाई समेत उचित स्थान दिनुपर्नेमा उनले जोड दिएका छन् ।
उनका अनुसार असोजको पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा पनि ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा प्राथमिकता दिने तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताको मिश्रणसहित स्पष्ट मापदण्ड बनाउनुपर्ने विषय उठाइएको थियो । तर, त्यसबेला भएका निर्णयले उक्त भावनालाई समेट्न नसक्दा पार्टीभित्र अपेक्षित सकारात्मक ऊर्जा पैदा हुन नसकेको उनको टिप्पणी छ ।
हतारमा निर्णय नगर्न सुझाव
पार्टीको जारी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने तथा वडा र पालिका तहका अधिवेशन आयोजना गर्ने निर्णय गरेको सन्दर्भमा भट्टराईले संगठनात्मक प्रक्रियामार्फत पार्टीलाई गतिशील बनाउने प्रयास सकारात्मक रहेको बताएका छन् ।
आन्तरिक तथा राष्ट्रिय महत्त्वका विषयमा छलफल गरी सकारात्मक निष्कर्षमा पुग्न यस्ता निर्णयले सहयोग गर्ने उनको अपेक्षा छ ।
यद्यपि, केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनजस्ता महत्त्वपूर्ण विषयमा हतारमा निर्णय गर्न नहुने उनको सुझाव छ । पार्टीभित्रको एकता खण्डित हुने अवस्था आएमा त्यसले आसन्न निर्वाचनसहितका चुनौती सामना गर्न कठिन बनाउने उनको भनाइ छ ।
‘हतारमा निर्णय र फुर्सदमा पछुताउनु’ सरह हुने भन्दै उनले पार्टी एकतालाई असर पार्ने सम्भावना भएका निर्णयमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
यदि सहमति र सन्तुलन कायम गर्न कठिन भए केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा केन्द्रीय कमिटीको आगामी बैठकबाट टुंग्याउनु उपयुक्त हुने उनको सुझाव छ ।
भट्टराईले आवश्यक कामका कारण जारी स्थायी कमिटी बैठकमा उपस्थित हुन नसकेको र आफ्नो अनुपस्थितिबारे पहिले नै जानकारी गराइसकेको पनि उल्लेख गरेका छन्।




