१४ असार २०८३, आइतबार

केदारस्यूँ गाउँपालिकालाई विपद् राहत सामग्री हस्तान्तरण



बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिकामा स्थानीय विपद् पूर्वतयारी तथा आपतकालीन व्यवस्थापन क्षमतालाई सुदृढ बनाउने उद्देश्यले २३ लाख ६९ हजार रुपैयाँभन्दा बढी मूल्यको गैरखाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। जलवायुजन्य तथा अन्य विपद्का समयमा छिटो र प्रभावकारी प्रतिकार्यका लागि स्थानीय सरकारलाई सक्षम बनाउन उक्त सहयोग उपलब्ध गराइएको हो ।

पिपुल इन नीडका आपतकालीन तथा पूर्वकार्य प्रमुख सविन अधिकारीका अनुसार बाढी, पहिरो र भूकम्पको निरन्तर जोखिममा रहेको केदारस्यूँ गाउँपालिका भित्रै राहत सामग्री पूर्व(भण्डारण गरिँदा विपद्पछिको कठिन समयमा प्रभावित परिवारले समयमै सहायता प्राप्त गर्न सक्नेछन्। यो सहयोग ‘सङ्कट परिमार्जक’ पहलको एक हिस्सा भएको र यसले उच्च जोखिमयुक्त क्षेत्रमा स्थानीय तहको पूर्वतयारी तथा प्रतिकार्य क्षमतालाई थप सुदृढ बनाउने अधिकारीले बताए।

युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित ‘प्रतिबद्ध’ परियोजना अन्तर्गत पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त साझेदारीमा यी सामग्रीहरू हस्तान्तरण गरिएका हुन् । हस्तान्तरण गरिएका सामग्रीहरूमा २७ वटा पारिवारिक पाल (टेन्ट), १४० थान गैरखाद्य राहत सामग्री सेट र १४० थान महिला तथा किशोरीलक्षित मर्यादा सामग्री (किट) रहेका छन्।

पिपुल इन नीडकी सञ्चार तथा पैरवी प्रबन्धक सजना श्रेष्ठले आगामी हप्ताहरूमा सामग्रीलाई ओस र कीराबाट जोगाई सुरक्षित राख्नका लागि करिब १ लाख ४० हजार रुपैयाँ बराबरको २० थान गोदामको काठ वा प्लास्टिकको खट (प्यालेट) समेत गाउँपालिकालाई हस्तान्तरण गरिने योजना रहेको जानकारी दिइन् ।

राहत सामग्रीको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न परियोजनाद्वारा सहभागी स्थानीय तहका प्रतिनिधिहरूलाई सामग्रीको अभिलेख व्यवस्थापन, भण्डारण मापदण्ड, मर्मतसम्भार र परिचालन प्रक्रियाबारे गोदाम व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ।

सामग्री ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष गणेश बोहराले भौगोलिक रूपमा विकट र बाढी, पहिरो तथा भूकम्पको निरन्तर जोखिममा रहेको आफ्नो गाउँपालिकाका लागि यो सहयोग अत्यन्तै समय सान्दर्भिक र महत्वपूर्ण रहेको बताए। अध्यक्ष बोहराले भने, विपद् कुन बेला आउँछ भन्न सकिँदैन, यस्तो अवस्थामा गाउँपालिकाकै आफ्नै आपतकालीन गोदाममा राहत सामग्री पूर्वभण्डारण हुनुले ठूलो राहत मिलेको छ। यसले विपद्पछिको कठिन समयमा प्रभावित परिवारसम्म तत्कालै राहत र उद्धार सामग्री पुर्‍याउन स्थानीय सरकारलाई थप सक्षम र जिम्मेवार बनाउनेछ। उहाँले यो संकटपूर्ण घडीमा सहयोग पुर्‍याउने सबै साझेदार संस्थाहरूलाई धन्यवाद समेत ज्ञापन गरे।

हस्तान्तरण कार्यक्रममा स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि, वडा विपद् व्यवस्थापन समिति र समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार