१० श्रावण २०८१, बिहीबार

विभेदपूर्ण लिंग छनोट अन्त्य हुनु पर्ने



अनुमोदन समाचार
धनगढी, मंसिर १३ गते ।
समाजमा व्याप्त विभेदपूर्ण लिंग छनोट अन्त्य हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेफालको आयोजनामा बुधबार धनगढीमा आयोजित अन्तरक्रिया कार्यत्रमका सहभागीले विभेदपूर्ण लिंग छनोट कार्यको अन्त्य हुनुपर्ने बताएका हुन । लिंग छनोट लैंगिक हिंसा रहेको उनीहरूले उल्लेख गरेका छन् ।

भ्रुण पहिचान गरी गर्भपतन गरिनुले लिंगको आधारमा जनसंख्यामा असन्तुलन देखा परिरहेको छ । यसले निकट भविष्यमा ठूलो समस्या निम्त्याउन सक्ने भन्दै सहभागीले चिन्ता व्यक्त गरेका छन् । जन्मसंगै लैंगिक विभेद रहेको महिला अधिकारकर्मी गोमा आचार्यले बताए । उनले महिला हिंसा न्यूनीकरण गर्नका लागि महिलालाई आर्थिक रुपमा सशक्त बनाउन जरुरी रहेको जिकिर गरिन । उनले भने, “पैतृक सम्पत्ति पनि छोराछोरीलाई बराबर दिइनु पर्दछ ।”

छोराको चाहनाले शिक्षित र पैसा भएका व्यक्तिले नै बढीजसो भ्रुण पहिचान गरेर गर्भतन गराउने गरेको सहभागीको भनाइ थियो । दागबत्तीका लागि छोरा नै चाहिने समाजको विश्वासका कारण लैंगिक रुपमा छोराछोरीबिच विभेद भइरहेको उनीहरूले बताए ।

पैतृक सम्पत्ति खोज्दा छोरी मान्छेले सम्बन्ध नै गुमाउनुपर्ने अवस्था रहेको महिला अधिकारकर्मी गीता चौधरीले बताए । उनले सरकारी अड्डादेखि लिएर राजनीतिक दलसम्म महिलाको नेतृत्वलाई स्वीकार गर्न नसकि विभेद गर्ने परिपाटी रहेको उल्लेख गरे ।

लैंगिक विभेद न्यूनीकरण गर्नका लागि विभेद जहाँबाट सृजना भएको त्यहिँ नै उपचार गर्न आवश्यक रहेको फाया नेपालका जनसम्पर्क तथा सूचना संयोजक धनपति ढुंगेलले बताए । “हामी कहाँ समस्या धर्म र धार्मिक ग्रन्थबाटै भएको छ”, उनले भने, भगवानको हवाला दिएर विभेद गर्ने डकुमेन्टको विरुद्धमा हामीले आवाज उठाउन सक्नू पर्दछ ।”

कार्यक्रममा सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र कार्कीले विभेदपूर्ण लैंगिक छनोट अन्त्यका लागि अनुमानित लागतसहितको सुदूरपश्चिम प्रदेश सरकारको प्रादेशिक कार्ययोजनाको ड्राफ्ट प्रस्तुत गरेका थिए । विभेदपूर्ण लैंगिक छनोट अन्त्यका लागि प्रदेश सरकारले पाँच वर्षीय कार्ययोजना निर्माण गरिरहेको छ ।

त्यस्तै, यूएनएफपीएका सुदूरपश्चिम प्रदेश प्रमुख कृष्ण भट्टराईले सुदूरपश्चिममा विभेदपूर्ण लिंग छनौटको अवस्थाबारे जानकारी गराएको थिए । यूएनएफपीएको आर्थिक सहयोगमा भएको कार्यक्रमको उद्देश्यबारे फाया नेपालका शेरबहादुर वस्नेतले जानकारी गराएको थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार