२७ पुष २०८१, शनिबार

स्वच्छ खानेपानीमा महत्वका साथ लगानी गर्नुपर्छ : प्रदेश सभा सदस्य वम




धनगढी/ सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर वमले नागरिकको स्वास्थ्य सिधै प्रभाव पार्ने विषयमा सरकाले अझ महत्वका साथ प्राथमिकता दिनुपर्ने बताएका छन् ।

खानेपानी तथा सरसफाई सम्बनधी सरोकारवालासंग गरिएको प्रदेश स्तरिय समन्वय तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मानव स्वास्थ्यमा पहिलो प्रभाव पार्ने स्वच्छ खानेपानीमा सरकारको लगानी बढाउनु पर्नेमा जोड दिए ।

उनले भने दुषित पानीका कारण ८० प्रतिशत नागरिक विरामी हुने गरेको तथ्य छ, यदि सवैले स्वच्छ खानेपानी प्रयोग गर्न पाए ८० प्रतिशत रोग आफै हट्छ स्वच्छ खानेपानीको पहुँच बढाउने कार्यक्रमलाई बढी महत्व दिनुपर्ने बताए ।

प्रदेश सभा सदस्य वमले आफू निर्वाचित भएपछि स्थानीयको माग अनुसार ५० प्रतिशत योजना खानेपानीकै समेटेको बताए ।
उनले खानेपानी उपभोक्ता समिति दर्ताका लागि ऐन निर्माण गर्न प्रदेशसभामा आवाज उठाउने पनि बताए । उनले धेरै नागरिकको माग नै खानेपानी योजना रहेको छ त्यसैले आफूले आगामी कार्यक्रममा खानेपानीलाई प्राथमिकता दिने प्रतिवद्धता पनि गरे ।

घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले जल, जंगल र जमिन स्वस्थ राख्न सकेमात्रै मानव स्वास्थ्य स्वस्थ हुने बताए । ‘अहिले सवै क्षेत्रमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको पाइन्छ, नगर प्रमुख रावतले भने, ‘तर मानव जीवनसंग जोडिएको विषयमा कसैको चाँसो देखिदैन, स्वच्छ पानी आमी सवैको प्राथमिकतामा हुनु पर्नछ ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ प्रदेश समितिको आयोजनामा भएको समन्वय अन्तरक्रिया कार्यक्रममा प्रदेशको खानेपानी तथा सरसफाईको अवस्था र समस्या समाधानका लागि कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य शेरबहादुर शाहीले सुदूरपश्चिम प्रदेशमा अझै करिब नौ प्रतिशत नागरिकले स्वच्छ खानेपानी प्रयोग गर्न नपाएको बताए । सुदूरपश्चिम प्रदेशमा शुन्य दशमलव नौ प्रतिशत नागरिकले खोलाको पानी प्रयोग गर्ने गरेको शाहीको दावी छ ।

शाहीका अनुसार दुषित पानी प्रयोग गर्ने नागरिकको संख्या पनि छ प्रतिशत माथि रहेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ९१ दशमलव दुई प्रतिशत नागरिकले मात्रै स्वच्छ पानी प्रयोग गर्ने गरेका छन् । आठ दशमलव ९० प्रतिशत नागरिकले अझैपनि दुषित पानी प्रयोग गर्ने गरेका छन् उनले कार्यपत्रमा भनेका छन् सुदूरपश्चिम प्रदेशका चार दशमलव चार प्रतिशत परिवार अझैपनि खुला शौच गर्दै आएका छन् ।

खानेपानीका योजना लामो समय सम्म पनि निर्माण सम्पन्न नहुने, भएका योजना ५/१० बर्षमै बन्द हुने, योजना मर्मत नहुने, जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने, जस्ता समस्याका कारण सवै नागरिक स्वच्छ खानेपानीको पहुँचमा आउन नसकेका उनले बताए ।

कार्यक्रममा खानेपानी विज्ञ चन्द्र ठगुन्नाले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कैलालीका पूर्व सचिव गंगा दुलालले संघियतापछि खानेपानी उपभोक्ता समुह कहाँ दर्ता गर्ने भन्ने अन्योलता रहेको बताए ।

स्थानीय तहले खानेपानी उपभोक्ता समुह दर्ता गर्न पाउँदैनन, दुलालले भने, प्रदेश र संघमा त्यो प्रावधान नै छैन, जसका कारण भएका खानेपानीका मुहान पनि संरक्षण गर्न सकिएको छैन, यो अन्योलता हटाउनतर्फ महासंघले पहल चाल्नु आवश्यक छ । उनले अन्य प्रदेशस्थित केही स्थानीय तहले खानेपानी उपभोक्ता समिति दर्ता गर्ने गरेको भन्दै सुदूरपश्चिममा रहेका स्थानीय तहले पनि त्यो कदम चाल्नु आवश्यक भएको बताए ।

कार्यक्रमकी अध्यक्ष तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघकी प्रदेश अध्यक्ष रत्ना कडायतले आगामी नीति तथा कार्यक्रममा खानेपानीलाई प्राथमिकतामा राख्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेकी छन् । ‘दुषित खानेपानीका कारण वर्षेनी हजारौं नागरिकले ज्यान गुमाउने गरेका छन् अध्यक्ष कडायतले भनिन् ‘यो समस्या समाधानका लागि तीनवटै तहका सरकार गम्भिर हुन जरुरी छ, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यो देख्न पाइयोस ।

कैलालीको घोडाघोडी नगरपालिकाले सहयोगमा कार्यक्रम भएको कार्यक्रममा फेकोफनकी महासचिव अनुपा चौधरीले लामो समयदेखि खानेपानी आयोजना बन्न नसकेका कारण नागरिक स्वच्छ खानेपानी प्रयोग गर्नबाट वञ्चित हुनुपरेको गुनासो गरेकी थिइन ।

२०६४/०६५ देखि बन्न थालेका खानेपानी आयोजनाहरु अहिलेसम्म पनि निर्माण पूरा भएका छैनन् उनले भनिन, बनेका आयोजना पनि दुई चार वर्षमै बन्द हुने गरेका छन् सवै नागरिकलाई स्वच्छ खानेपानीको पहँचमा ल्याउन योजना समयैमै बनाउन दवाव दिने र गुणस्तरिय काम गर्न सवै लाग्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार