१४ बैशाख २०८१, शुक्रबार

पञ्चदेवलका चक्र ८९ वर्षसम्म भुँइमै



भूकम्पले भुँइमा खसेका देवलका चक्र

बैतडी/ वि.सं. १९९० सालको भूकम्पले खसेका बैतडीको पञ्चदेवलका दुई वटा चक्र ८९ वर्षसम्म भुँइमै रहेका छन् । करिब एक दशकअघि पुरातत्व विभागले ठेक्कामार्फत देवलको जिर्णोद्धार गर्दा ठेकेदारले चक्र नराखेरै हिँडेपछि दुईवटा चक्र भुँइमै छुटेका हुन् ।

देवलमा भेटिएका पुरातात्विक वस्तु ।

हुलाक सेवा विभागले हालै प्रकाशन गरेको पञ्चदेवल अङ्कित हुलाक टिकटमा दुईवटा देवलको टुप्पोमा चक्र नभएको देख्न सकिन्छन् । यहाँ सातवटा देवल भए पनि टिकटमा छ वटा मात्रै देवल राखिएका छन् ।

दशरथचन्द नगरपालिका–४, देवलहाटमा सात वटा देवल रहेका भए पनि नाम भने पञ्चदेवल रहेको स्थानीय ८३ वर्षीय वीरबहादुर चन्दले बताए ।

किवदन्ती अनुसार पाण्डवकालीन समयमा एकै रातमा सातवटा देवल बनेको कथन छ । सातौ देवल पूरा गर्ने बेलामा विहानी पख उज्यालो भएपछि एउटा देवल अधुरै छाडिएको किवन्ती रहेको उनले बताए ।

शिखर वास्तुशैलीमा निर्मित पञ्चदेवलका खाबो, ढोका,दालान र छतमा सुर्कीको प्रयोग गरेर टुप्पोमा ढुङ्गाकै चक्र कुँदेर राखिएकोे छ । वि.सं. १९९० सालमा भूकम्प जाँदा दुई वटा चक्र भुँइमा खस्दा देवलभित्रबाट ढाल/तरवार, चाँदी र काँसका भाँडाकुडा भेटिएको जानकारी पाएको स्थानीय स्थानीय उद्धव मार्कण्डले बताए ।

त्यसपछि करिब एक दशकअघि पुरातत्व विभागले देवलको जिर्णाद्वारा गर्दा माटोको भाँडामा धान र सुन चाँदीसमेत भेटिएको उनले बताए । फेला परेका ऐतिहासिक वस्तु पञ्चदेवलमा सुरक्षित राखिए पनि सङ्ग्रालय नहुँदा पुरातात्विक वस्तुको संरक्षण हुन नसकेको उनले बताए ।

एक दशकअघि देवलको जिर्णोद्धार गर्ने बेलामा पञ्चदेवलसम्म सडक बाटो थिएन । मेसिन जान नसक्दा चैनपुल्लीले पञ्चदेवलका चक्र उठाएर राख्न नसकिएको स्थानीयले बताएका छन् । जानकार वीरबहादुर चन्दका अनुसार बैतडीस्थित नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर पनि चक्र उठाएर राख्न नसकेपछि त्यतिकै छाडिएको छ ।

सात वटा देवल रहेको बैतडीको पञ्चदेवल ।

नेपाल सरकार, सूचना तथा प्रविधि मन्त्रालयको हुलाक सेवा विभागले पञ्चदेवल अङ्कित हुलाक टिकट प्रकाशन गर्दा चक्र बारे ध्यान पु¥याउन नसक्दा चक्र विनाकै हुलाक टिकट बजार आउन पुगेकामा त्यति खुसी नलागेको चन्दले बताए ।

पञ्चदेवलसम्म स्तरीय सडक नभए पनि फराकिलो सडक बनाएर क्रेनको माध्यमले पञ्चदेवलका चक्र राख्न सकिने स्थानीयले बताएका छन् ।

पञ्चदेवल निर्माणको शैली ।

स्थानीय सरकार उदासिन
पुरातात्विक महत्व बोकेको पञ्चदेवल हुलाक टिकटमा प्रकाशन हुँदा पनि स्थानीय सरकारले भने देवलको संरक्षण, फेला परेका वस्तु राख्ने सङ्ग्रालय , देवलसम्म पुग्ने स्तरिय बाटो निर्माणमा कुनै चासो नदिएको स्थानीयले बताएका छन् ।

जिल्ला सदरमुकाम बैतडीबाट करिब दुई किलोमिटर भित्र देवहाट गाउँमा रहेको पञ्चदेवलको प्रचार प्रसार हुन नक्सदा यहाँ बाह्य पर्यटक खासै नआएको स्थानीय हरिदत्त भट्टले बताए ।

स्थानीय तह र प्रदेश सरकारले पञ्चदेवलसँगै रहेको बस्तीलाई होमस्टेको रुपमा विकास गर्न अवश्यक सहयोग गरेमा पञ्चदेवल हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने स्थानीयले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार