२९ पुष २०८१, सोमबार

अपाङ्गता भएका व्यक्तिलाई न्यायमा सहज पहुँच गरिनु पर्छ : उपप्रमुख राना




धनगढी/ धनगढी उप–महानगरपालिकाका उप–प्रमुख कन्दकला रानाले उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा सहज पहुँच हुनुपर्नेमा जोड दिएकी छिन् ।

न्यायीक समिति संयोजक समेत रहेकी उपप्रमुख रानाले अपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा समान पहुँच र हक अधिकार सुनिश्चितता हुनुपर्ने बताएकी छन् ।

‘हामीलाई पनि समावेश गर’ परियोजना अन्तर्गत राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अयोजना तथा सीबीएमको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्वन्धी सार्वजनिक बहस कार्यक्रममा बोल्दै उप प्रमुख रानाले सो कुरा बताएकी हुन् ।

उनले भनिन्,‘उपमहानगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिको सबै क्षेत्रमा समान पहुँचका लागि विशेष कार्यक्रम लागू भइरहेको छ ।’ उनले उपमहानगरपालिकामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको वर्गीकरण गरेको बताइन् । बर्गीकरणका आधारमै उनीहरुलाई मासिकरुपमा भत्ताको व्यवस्था पनि गरिएको उनले बताइन् ।

कार्यक्रममा कैलाली जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले कानुनमा उल्लेख भएबमोजिम अपाङ्गता भएका व्यक्तिलाई हरेक स्थानमा समावेशी गरिनुपर्नेमा जोड दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदिप वेस्त्राले सुदूरपश्चिम सरकारले अपाङ्गता भएका व्यक्तिको हरेक क्षेत्रमा समान पहुँच पु¥याउने खालका कार्यक्रम ल्याएको बताए । उनले भने,‘कानुनमा उल्लेख भएबमोजिम नै सुदूरपश्चिम सरकारले अपाङ्गतामैत्री नीति नियम बनाइरहेको छ ।’

सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले अपाङ्गता भएका व्यक्तिलाई पनि समाजमा सहज रुपमा जिउने अधिकार रहेको बताए । उनले भने,‘अपाङ्गता भएकै कारण उसलाई अपहेलित गरिनु हुँदैन ।’ राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख हरिप्रसाद ज्ञवालीले अपाङ्गता भएका व्यक्तिको पनि हरेक क्षेत्रमा उत्तिकै पहुँच हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘कानुनमा उल्लेख भएबमोजिम नै अपाङ्गता भएका व्यक्तिको हक अधिकार तथा कानुन कार्यान्वयनका लागि राष्ट्रिय मानव अधिकार आयोग पनि लागिरहेको छ ।’

अपाङ्गता भएका व्यक्तिहरु सेवाका लागि आफ्नो कार्यालयमा आउँदा उनीहरुलाई विशेष ग्राह्यता दिँदै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रसाद जोशीले बताए ।

कार्यक्रममा नेपाल बार एशोसियसन कैलालीका अध्यक्ष सिद्धराज ओझाले वार एशोसियसनले पनि अपाङ्गता भएका व्यक्तिको हक अधिकारका लागि पैरवी गरिरहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरु ,अपाङ्गताअधिकारकर्मी र दर्जनौ संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार