२९ पुष २०८१, सोमबार

कैलालीमा मानव अधिकार हननका घटनामा लगातार बृद्धि



पीडितमध्ये महिलाको संख्या निकै बढी

  • घरेलु हिंसाका घटनामा २२४ महिला पीडित
  • बलात्कारका घटनामा बृद्धि
  • २९ जना बालबालिका बलात्कारको सिकार

कैलालीमा पछिल्ला वर्षहरूमा मानव अधिकार उल्लंघनका घटनामा निरन्तर वृद्धि भइरहेको छ । पछिल्लो १२ महिना (सन् २०२२) को अवधिमा कैलालीमा मानव अधिकार हननका ३ सय ११ घटना भएका छन् । मानव अधिकार हननबाट सबैभन्दा बढी महिला पीडित रहेका छन् । यो अवधिमा भएका मानव अधिकार उल्लंघनका ३ सय ११ घटनामा पीडित हुने महिलाको संख्या २ सय ९२ रहेको छ ।

कैलालीमा अघिल्लो वर्ष .(सन् २०२१) मा मानव अधिकार उल्लंघनका २ सय २३ घटना भएका थिए । सो वर्ष पनि महिलाहरू नै बढी पीडित भएका थिए । सो वर्ष २ सय ११ महिला पीडित भएका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार धनगढीमा आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३’ प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रममा कैलालीमा भएका मानव अधिकार हननका घटनाको विवरण प्रस्तुत गरियो ।

पछिल्लो १२ महिनाको अवधिमा कैलालीमा ३ सय ११ मानव अधिकार उल्लंघनका घटनामा २२ पुरुष पीडित भएका थिए । त्यस्तै, गत वर्ष (सन् २०२१) मा भएका मानव अधिकार उल्लंघनका २ सय २३ घटनामा १५ जना पुरुष पीडित भएका थिए ।
कैलालीमा पछिल्लो १२ महिनाको अवधिमा घरेलु हिंसाको घटनामा २ सय २४ महिला पीडित भएका थिए ।

त्यस्तै, कैलालीमा बलात्कारका घटनामा पनि निरन्तर बृद्धि भइरहेको छ । बलात्कारका घटनामा ठूलो संख्यामा बालबालिका पनि पीडित भएका छन् ।

यो अवधिमा बलात्कारका घटनामा १८ जना महिला पीडित भएका छन् । त्यस्तै, बलात्कारको प्रयासबाट एक जना र बहुविवाहबाट दुई जना महिला पीडित भएका थिए ।

कैलालीमा पछिल्लो १२ महिनाको अवधिमा मानव अधिकार उल्लंघनको घटनामा ४० जना बालबालिका पीडित भएका छन् । यसमध्ये २९ जना बालबालिका बलात्कारको सिकार भएका छन् । तीन जना बेचबिखनमा परेका छन् । चार जना बालबालिकामाथि यौन दुर्व्यवहार भएको छ । बलात्कारको प्रयासबाट चार जना पीडित भएका छन् ।

यो अवधिमा तीन जना महिलाको परिवारभित्रैबाट हत्या भएको छ । आक्रमणमा तीन जना महिला गम्भीर घाइते भएका छन् ।
कैलालीमा महिलामाथि हिंसाका घटनामा किन बृद्धि भइरहेको छ ? अनुमोदनको जिज्ञासामा इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले भने– “अहिले पनि हाम्रो समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने पुरुष मानसिकता हावी छ । अर्कोतिर, राज्यले नागरिकलाई सुरक्षाको भरपर्दो प्रत्याभूति पनि दिनसकेको छैन ।”

प्रदेश संयोजक जोशीको विश्लेषणमा महिलामाथि हुने कुनै पनि किसिमको हिंसामा पीडितका पक्षमा परिवार, माइती पक्ष तथा समाज नै उदासिन हुनेगरेका छन् । उनी भन्छन्– “बलात्कृत महिलालाई हत्तपत्त परिवार, माइती पक्ष तथा समाजले नै स्वीकार गर्न अफ्ठेरो मान्ने गरेको अवस्था छ ।”

उनले महिला िंहंसाका घटनामा पीडितलाई न्याय दिलाउनेतर्फ भन्दा पनि प्रहरी, प्रशासन तथा स्थानीय तहहरू मिलापत्र गर्ने, सकेसम्म मुद्दा दर्ता नगर्ने व्यवहार देखाउने गरेको बताए । उनले भने– “महिला हिंसाको सवाललाई जहिले पनि सामाजिक लान्छना, अवहेलनाको विषय बनाइने गरेको छ ।”

हिंसामा परेका महिलालाई न्याय दिलाउनेतर्फ सामाजिक उत्प्रेरणको पाटो पनि कमजोर रहेको उनको अनुभव छ ।

कार्यक्रममा इन्सेक प्रदेश संयोजक जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तकलाई अझ बढी प्रभावकारी र विश्वसनीय बनाउन सरोकारवालाहरूको सल्लाहसुझाव आवश्यक रहेको बताए ।

कैलाली जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक सरस्वती अधिकारीले इन्सेकले संकलन गरेका मानव अधिकार हननका घटनाहरूको सत्यतथ्य अद्यावधिक गरी वर्ष पुस्तकमा समावेश गर्न आग्रह गरिन् ।

सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि विदेशराम चौधरी, ओरेक नेपालका जिल्ला संयोजक बिनु राना लगायतले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकमा घटनाको स्रोत समेत उल्लेख गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार