१४ बैशाख २०८१, शुक्रबार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान: मानवअधिकार रक्षक र सरोकारवालाहरुबीच अन्तक्र्रिया




धनगढी/ “सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान” को नारासहित जारी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा धनगढीमा सरोकारवाला र मानवअधिकार रक्षकहरुबीच अन्तक्र्रिया भएको छ ।

लुथरन विश्व फेडरेशनको आयोजनामा भएको कार्यक्रममा कैलालीका विभिन्न पालिकामा क्रियाशील मानवअधिकार रक्षक, प्रहरी, अधिकारकर्मी, सरकारी अधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँवस्तीमा क्रियाशील मानवअधिकार रक्षकहरूले हिंसा तथा अन्यायमा परेका सिमान्तकृत समुहहरूलाई न्याय दिलाउने कार्य निकै चुनौतिपूर्ण रहेको अनुभव सुना । उनीहरूले स्वयं मानवअधिकार रक्षकहरूले समेत समाजमा अनेक लान्छना र अपहेलना सहनु परिराखेको बताए ।

सहभागीहरूले अझै पनि हिंसा तथा विभेदपीडितहरू डरत्रास तथा न्याय प्राप्त गर्ने प्रक्रियाबारे अनभिज्ञ रहेका कारण न्याय पाउनबाट बञ्चित हुनुपरिराखेको बताए । कार्यक्रममा कैलालीको जानकी गाउँपालिका–४ का मानवअधिकार रक्षक सञ्जालका सदस्य सावित्री कठरियाले हिंसामा परेका महिला र त्यसमा पनि अपाङ्गता भएका महिलाको पुनःस्थापना निकै कठिन हुनेको अनुभव व्यक्त गरिन् ।

कार्यक्रमको अध्यक्षता गरिरहेकी मानवअधिकार रक्षक सञ्जालका सदस्य दृष्टिबिहीन गंगा चौधरीले आफूले हरेक दिन विभिन्न खालका पीडा भोग्नुपरेको सुनाइन् । उनले भनिन्– मेरै गाउँमा अपाङ्गता भएकी २२ वर्षीया एक महिला बलात्कृत भइन्, तर जति गरे पनि न्याय पाउन सकिनन् । गंगाले ती बलात्कृत महिलाको उजुरी समेत प्रहरीमा दर्ता हुननसकेको बताइन् ।
आफूले गाउँवस्तीमा पीडितहरूको न्यायका पक्षमा काम गर्ने क्रममा हरेक दिनजसो समस्या र पीडा भोग्नुपरेको स्मरण गर्दै उनले एउटा घटनाबारे सुनाइन्– म तालिममा सहभागी हुन डोटीको बुडर जाने क्रममा बालक छोरालाई साथमा लिएर कैलालीको अत्तरियामा पुगे । मैले त्यहाँ ३÷४ घन्टा कुर्नुपर्ने भो । म बस प्रतिक्षालयमा बसिरहेको वेला कोही पुरुष आएर तनाव दिन थाल्यो । आफूसंग घुम्न जान कर गर्न थाल्यो । मैले छोराको हात समातेर त्यही बसिरहे । उसले पटक पटक मलाई तनाव दिइरह्यो । त्यो ३÷४ घन्टा मैले हदैसम्मको टर्चर सहे ।

उनले आफूले गाउँघरमा पीडितहरूको पक्षमा काम गर्न खोज्दा छरछिमेक तथा समाजका अन्य व्यक्तिहरूबाट लान्छना र अपहेलना सहनुपरेको बताइन् । “ म दृष्टिबिहीन छु । मानव अधिकार हनन्का विरुद्ध क्रियाशील छु । तर, हामी (फरक क्षमता भएका व्यक्ति) लाई हरेक पाइलामा विभेद छ” उनले सुनाइन्– सार्वजनिक यातायातमा यात्रा गर्दा न त हामीले टिकटमा ५० प्रतिशत छुटको सुविधा पाउन सकेका छौं, न अपाङ्गता भएका व्यक्तिलाई व्यवस्था गरिएको सिटमा नै बस्न पाएका छौं ।

कैलारी गाउँपालिका उपाध्यक्ष भगवती देवी चौधरीले गाउँघरमा अहिले पनि हिंसामा परेका महिलाहरू पीडा लुकाएर बसेको आफूले अनुभव गरेको बताइन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयको महिला विकास अधिकृत जयन्ती गिरी, कैलाली जिल्ला अदालतका वैतनिक वकिल कमलबहादुर धामी र कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्रबहादुर धनुषेले घरेलु तथा लैङ्गिक हिंसाबाट पीडित भएकाहरूको न्याय, राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि भएका कानुनी तथा नीतिगत प्रबन्ध, कार्यक्रम र कार्यविधिबारे जानकारी गराएका थिए ।

सो अवसरमा लुथरन विश्व फेडेरेशनका डा. सुवास गुरुङले अहिले पनि हिंसापीडितहरूको न्याय, राहत र क्षतिपूर्तिका लागि राज्यले गरेका व्यवस्थाबारे पीडितहरू सबैले जानकारी पाउन नसकेको अवस्था रहेको चर्चा गरे । “मानवअधिकार रक्षकहरूको भूमिका नै न्यायसम्म पीडितको पहुँच बृद्धि गर्नु नै हो” उनले घरपरिवार र समाजबाटै बढिजसो घरेलु तथा लैङ्गिक हिंसा हुने गरेको बताए ।

कार्यक्रममा लुथरन विश्व फेडरेशनका धनगढी कार्यालय प्रबन्धक मानध्वज खत्रीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत भइरहेका गतिविधिबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार