१६ चैत्र २०८०, शुक्रबार

आम निर्वाचन, २०७९ : सुदूरपश्चिम प्रदेशमा ६ स्थानसहित काँग्रेस अगाडि



एमाले तीन, एक जीतसहित नाउपा तीन र नेकपा (एस) को तीन स्थानमा अग्रता


धनगढी / प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस ६ स्थानमा अगाडि रहेको छ ।
मंगलबार राती ९ बजेसम्मको मतगणना परिणामअनुसार नेकपा एमाले तीन स्थानमा अगाडि रहेको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको एक सिट जितिसकेको छ भने दुई सिटमा अग्रता लिइरहेको छ । तीन सिटमा नेकपा एकीकृत समाजवादीको अग्रता रहेको छ ।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ स्थानमध्ये बाजुरामा एक ठाउँमा मतदान हुन बाँकी छ । कैलाली ३ बाट नागरिक उन्मुक्ती पार्टीले विजय प्राप्त गरिसकेको छ । नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी भएका छन् ।

डडेल्धुरामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अगाडि रहेका छन् । दार्चुलामा कांग्रेस केन्द्रीय सदस्य तथा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडू, कञ्चनपुर २ मा केन्द्रीय सदस्य एनपी साउद र कञ्चनपुर ३ मा केन्द्रीय सदस्य रमेश लेखक, कैलाली ४ मा काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायर तथा अछाम २ मा जिल्ला सभापति पुष्पबहादुर शाह अगाडि रहेका छन् ।

यस्तै एमालेका नारदमुनी राना कैलाली ५ मा, तारा लामा तामाङ कञ्चनपुर १ र दामोदर भण्डारी बैतडीमा अगाडि रहेका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अछाम क्षेत्र नम्बर १ मा १ मा अग्रता लिइरहेका छन् । एकीकृत समाजवादीकै पूर्वमन्त्री प्रेम आलेमगर डोटीमा र पूर्वमन्त्री भानुभक्त जोशी बझाङमा अगाडि छन् ।

नागरिक उन्मुक्ती पार्टीबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी कैलाली १ मा र अरुनकुमार चौधरी कैलाली २ मा अगाडि रहेका छन् ।

मंगलबार राती साढे आठ बजेसम्मको मतगणना परिणामअनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यका प्रत्यक्षतर्फका ३२ क्षेत्रमध्ये हाल डडेल्धुरा, अछाम र बाजुरा बाहेक २४ क्षेत्रमा मतगणना भइरहेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेस आठ स्थानमा अगाडि रहेको छ । त्यस्तै, एमाले आठ, नागरिक उन्मुक्ती चार, एकीकृत समाजवादी तीन र माओवादी केन्द्र एक स्थानमा अगाडि रहेको छ ।

डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवा निकटतम प्रतिस्पर्धीभन्दा साढे चार हजार बढी मतले अगाडि रहेका छन् । २०४८ सालबाट प्रतिनिधि सभा सदस्यको चुनाव लड्दै आएका सभापति देउवाले मंगलबार साँझ ५ बजे सम्म १९ हजार ५९६ मत गणना हुँदा नौ हजार ७७३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार १९३ मत प्राप्त गरेका छन् । भने नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले दुई हजार ६९४ मत पाएका छन् ।

अछाम १ मा गठबन्धनका शेरबहादुर कुँवर प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहरा भन्दा चार हजार २६ मतले अगाडि छन् । एकीकृत समाजवादीका कुँवरले १० हजार २९० मत पाउँदा एमालेका बोहराले छ हजार २६४ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा काँग्रेसका बागी उम्मेदवार राजन कुँवरले एक हजार ६१४ प्राप्त गरेका छन् । अछाम १ मा ४१ हजार ४८५ मत खसेको थियो ।

अछाम–२ मा नेपाली काँग्रेसका उम्मेदवार शाह तीन हजार २२२ मतसहित एमालेका यज्ञबहादुर बोगटी भन्दा अगाडि रहेका छन् । काँग्रेसका शाहले नौ हजार ६६६ मत प्राप्त गरेका छन् भने एमालेका बोगटीले छ हजार ४४४ मत पाएका छन् । अछाम २ मा ४१ हजार ८११ मत खसेको थियो ।

कञ्चनपुर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङ चार हजार ४६४ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई माओवादी केन्द्रका विना मगरले पछ्याई रहेकी छिन् । उनले दुई हजार ७४ मत प्राप्त गरेकी छिन् । ९९ हजार ११० मतदाता रहेको कञ्चनपुर १ मा ६४ हजार २३९ मत खसेको थियो ।

कञ्चनपुर २ मा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी सावद सात हजार ४३८ मत सहित अगाडि छन् । उनका प्रतिस्पर्धी एमालेका नरबहादुर धामीले पाँच हजार ९२१ मत पाएका छन् ।

एक लाख ५५ हजार ५७७ मतदाता रहेका कञ्चनपुर २ मा ६५ हजार १४६ मत खसेको थियो ।

त्यस्तै, कञ्चनपुर ३ मा नेपाली कांग्रेसका रमेश लेखकले १२ हजार ५६४ मत पाएका छन् । भने उनका प्रतिस्पर्धी एमालेका निरु देवी पालले सात हजार ६५३ मत प्राप्त गरेकी छिन् । ९७ हजार ८२२ मतदाता रहेको कञ्चनपुर ३ मा ५७ हजार ९५५ मत खसेको थियो ।

प्रदेश सभा सदस्यतर्फ कञ्चनपुरमा ३ सिटमा गठबन्धनका, २ सिटमा एमाले र १ सिटमा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । कञ्चनपुर १ प्रदेशसभा सदस्य ‘क’ मा एमालेका वीरबहादुर थापा चार हजार २२८ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका बन्धु रानाले दुई हजार १२४ मत पाएका छन् ।

कञ्चनपुर १ प्रदेशसभा ‘ख’ मा काँग्रेसका दिवानसिंह विष्ट अगाडि छन् । उनले दुई हजार २३८ मत पाउँदा एमालेका उम्मेदवार पल्लवराज भट्टले दुई हजार ७ मत पाएका छन् ।

त्यस्तै कञ्चनपुर २ ‘क’ मा एमालेका उम्मेदवार बचनबहादुर सिंह पाँच हजार ११५ मतसहित अगाडि छन् । गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका ओमविक्रम भाटले चार ५४३ मत पाएका छन् । त्यस्तै प्रदेश सभा ‘ख’ मा नेपाली काँग्रेसका बहादुरसिंह थापाले अग्रता लिएका छन् । उनले दुई हजार ६७६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृपाराम रानाले दुई हजार ६३९ मत प्राप्त गरेका छन् ।

कञ्चनपुर ३ ‘क’ मा एकीकृत समाजवादीका प्रकाश रावलले एक हजार ३१५ मतसहित अग्रता लिएका छन् । सो क्षेत्रमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टले एक हजार १९८ मत प्राप्त गरेका छन् भने राप्रपाका धर्मराज जोशीले ९ सय ४२ मत पाएका छन् ।

कञ्चनपुर ३ ‘ख’ मा गठबन्धनका उम्मेदवार काँग्रेसका बेलबहादुर राना चार हजार १३५ मतसहित अगाडि छन् । एमालेका उम्मेदवार सुरेन्द्रबहादुर विष्टले दुई हजार ४७० मत प्राप्त गरेका छन् ।

कैलाली १ मा प्रतिनिधि सभा सदस्य पदमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले निरन्तर अग्रता बनाएकी छिन् ।

मंगलबार साँझसम्म १५ हजार ७२४ मत गणना हुँदा रञ्जिताले सात हजार ५२ मत पाएकी छिन् भने नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीले चार हजार ५२५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका एमालेका तपेन्द्रबहादुर रावलले एक हजार ५१८ मत पाएका छन् । प्रदेश सभा सदस्यमा पनि दुवै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु अगाडि छन् ।

प्रतिनिधि सभा सदस्यमा कैलाली २ मा नागरिक उन्मुक्तिका अरुनकुमार चौधरीले दुई हजार ४३८, गठबन्धनका भगतबहादुर बडुवालले एक हजार ८३४ र एमालेका झपटबहादुर रावलले एक हजार ६७० मत पाएका छन् । प्रदेश सभा ‘क’ मा नागरिक उन्मुक्तिका रतनबहादुर थापा र ‘ख’ मा गठबन्धनका नन्दबहादुर साउद अगाडि छन् ।

कैलाली ५ मा नेकपा (एमाले) का उम्मेदवार नारदमुनि राना झिनो मतान्तरले अगाडि छन् । तीन हजार ५५६ मत गणना हुँदा एमालेका रानाले एक हजार २८० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डिल्लीराज पन्तले एक हजार ३९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले ४५३ मत पाएका छन् ।

कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा ‘क’ मा एमालेका नेपालु चौधरीले अग्रता लिएका छन् । उनले एक हजार ६० मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रमेश धामीले ५७३ मत पाएका छन् ।

कैलाली ५ प्रदेश सभा ‘ख’ मा गठबन्धना साझा उम्मेदवार नेपाली कांग्रेसका प्रकाशबहादुर देउवाले निरन्तर अग्रता लिइरहेका छन् । दुई हजार ९८८ मत गणना हुँदा देउवाले एक हजार ५० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका दुर्गाप्रसाद जोशीले ६२५ मत पाएका छन् । त्यस्तै राप्रपाका शिवराज भण्डारीले ४८१, स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले ३१२ र नागरिक उन्मुक्तिका गोठूराम चौधरीले ३०७ मत प्राप्त गरेका छन् ।

डोटीमा प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आलेमगर फराकिलो मतान्तर सहित अगाडि छन् । उनले आठ हजार ३०२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका गौरी वलीले चार हजार ९९८ मत प्राप्त गरेकी छिन् ।

डोटीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा १४ हजार ६१३ मत गणना हुँदा एमाले उम्मेदवार चक्रबहादुर मल्ल सात हजार २३३ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरेन्द्रबहादुर सिंहले छ हजार ४१ मत पाएका छन् ।

त्यस्तै, डोटी प्रदेश सभा ‘ख’ मा पनि नेकपा एमालेका उम्मेदवार टेकबहादुर वम अगाडि रहेका छन् । १४ हजार २७९ मत गणना हुँदा उनले छ हजार ५९४ मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओलीले छ हजार ४८४ मत पाएका छन् ।

बझाङमा मंगलबार दिउँसोबाट मतगणना शुरु भएको छ । पछिल्लो मतगणना अनुसार एकीकृत समाजवादीका भानुभक्त जोशीले ५२० मत पाएका छन् भने एमालेका ऐन महरले ४४१ मत प्राप्त गरेका छन् ।

बझाङ प्रदेश सभा ‘क’ मा कांग्रेसका पृथ्वीबहादुर सिंहले ६०० मत पाएका छन् । उनलाईे एमालेका अफिलाल ओखेडाले ५०८ मत सहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार