२ माघ २०८१, बुधबार

सुदूरपश्चिममा चार दशकपछि ठूलो भूकम्प




धनगढी/ सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दू बनाएर बुधबार बिहान गएको भूकम्प चार दशकयताको सबैभन्दा ठूलो भएको मानिएको छ ।

बुधबार बिहान २.१२ बजे डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दू रहेको ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । यो २०३७ सालयताको सुदूरपश्चिम प्रदेशमा गएको सबैभन्दा शक्तिशाली भूकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

यसअघि २०३७ साल साउन १४ गते राति ८.४३ बजे बझाङ केन्द्रविन्दु रहेको ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा एक सय ७० जनाको मृत्यु भएको थियो भने १० हजार बढी घर भत्किएका थिए ।

बुधबार बिहानको भूकम्पबाट डोटीको पूर्विचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा छ जनाको ज्यान गएको थियो । घटनामा पाँच जना घाइते भएका थिए ।

प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार भूकम्पका कारण घर भत्किँदा ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीया तुल्सी बोहराको मृत्यु भएको थियो ।

त्यस्तै, इन्नरीदेवी बोहरा, धौली बोहरा, विस्नादेवी बोहरा, थाना बोहरा, महावीर बोहरा, केशरसिंह बोहरा र जगुदेवी बोहरा घाइते भएका थिए ।

भूकम्पबाट डोटी बझाङ, बाजुरा र बैतडी बढी प्रभावित भएका छन् । भूकम्पको कम्पन कैलाली, कञ्चनपुरसम्म पनि महसुस भएको थियो । बझाङको खप्तडछान्नार थलारा गाउँपालिकामामा दर्जन बढी घरमा क्षती भएको छ । बझाङ, बाजुरा, अछाम र डोटीको सिमानामा पर्ने खप्तड राष्ट्रिय निकुञ्जसंग जोडिएका गाउँवस्तीका दुई दर्जनबढी घरमा क्षति पुगेको छ ।

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकायाले भूकम्पबाट ७० प्रतिशत घरहरू चर्किएको हुनसक्ने अनुमान रहेको बताए ।

घटनापछि सो क्षेत्रमा राहत र उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस र स्थानीयहरू खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घटनामा गम्भीर घाइते घाइते विस्ना बोहरा र साना बोहरालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा पठाइएको छ ।

पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले राहत तथा उद्धारका लागि सबै निकायसँग सहकार्य भइरहेको बताए ।
बुधबार बिहानको भूकम्पका कारण बैतडीकाविभिन्न स्थानमा घरहरू चर्किएका छन् ।

भूकम्पबाट पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको छ । त्यस्तै, दशरथचन्द नगरपालिका–१ मा एक दर्जन बढी घरमा चिरा परेको छ ।

बाजुरामा भूकम्पका कारण तीन घर पूर्णरुपमा क्षती भएका छन् । दर्जनौ घर चर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार